काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को लिग चरण मंगलबार राति सम्पन्न भएको छ। अन्तिम खेलमा रोमान्चक नतिजासँगै चार टोलीको प्लेअफ यात्रा सुनिश्चित भएको छ।
लिग चरणको अन्तिम तथा निर्णायक खेलमा बैंग्लोरले लखनउ सुपर जायन्ट्समाथि ६ विकेटको शानदार जित निकाल्दै प्लेअफमा दोस्रो स्थानबाट प्रवेश गरेको हो।
लखनउले प्रस्तुत गरेको विशाल २२८ रनको लक्ष्य बैंग्लोरले मात्र १८.४ ओभरमै चार विकेट गुमाएर भेट्टायो। यस जितसँगै बैंग्लोरले १४ खेलमा ९ जितसहित १९ अंक बनायो। यस्तै, पन्जाबले पनि समान १४ खेलबाट १९ अंक बनाएको थियो। तर, नेट रनरेटको आधारमा पन्जाब शीर्ष स्थानमा रहँदा बैंग्लोर दोस्रो स्थानमा सिमित भयो।
तेस्रो स्थानमा १८ अंकसहित गुजरात टाइटन्स पुग्दा चौथो स्थानमा १६ अंक बटुलेको मुम्बई इन्डियन्सले पनि प्लेअफ यात्रा तय गर्न सफल भयो। यससँगै शीर्ष चार टोली पन्जाब, बैंग्लोर, गुजरात र मुम्बईले आगामी क्वालिफायर तथा इलिमिनेटर खेलमा प्रतिस्पर्धा गर्नेछन्।
आईपीएल २०२५ को प्लेअफ अन्तर्गत पहिलो क्वालिफायर खेल मे २९ मा पन्जाब र बैंग्लोरबीच हुनेछ। यो खेल जित्ने टोली सिधा फाइनलमा पुग्नेछ भने हार्ने टोलीले दोस्रो मौका इलिमिनेटर विजेतासँग ‘क्वालिफायर २’ मा पाउनेछ।
यता, मे ३० मा हुने इलिमिनेटर खेलमा गुजरात र मुम्बई भिड्नेछन्। यस खेलमा पराजित हुने टोलीको आईपीएल यात्रा समाप्त हुनेछ। विजेता भने फाइनलको ढोका खोल्न ‘क्वालिफायर २’ मा प्रतिस्पर्धा गर्नेछ।
आईपीएल २०२५ को लिग चरण यसपटक निकै प्रतिस्पर्धात्मक रह्यो। अधिकांश टोलीबीचको अंक फरक निकै न्यून थियो, जसले प्लेअफको समीकरण अन्तिम खेलसम्म खुला राख्यो। लखनउ, राजस्थान र चेन्नईजस्ता टोली अन्तिम खेलसम्म पनि प्लेअफको दौडमा रहे, तर अन्ततः पछाडि परे।
यस संस्करणमा पन्जाबले उत्कृष्ट लय देखाउँदै शीर्ष स्थान हात पार्न सफल रह्यो भने बैंग्लोरले पछिल्ला केही खेलहरूमा लगातार प्रदर्शन सुधार्दै दोस्रो स्थान पक्का गर्यो। गुजरात र मुम्बईले पनि स्थिर प्रदर्शनमार्फत प्लेअफमा स्थान सुरक्षित गरे।
अब सबैको ध्यान प्लेअफ खेलहरूमा केन्द्रित हुनेछ। पहिलो क्वालिफायरमा शीर्ष दुई टोलीको भिडन्तले सीधा फाइनलिस्ट तय गर्नेछ भने इलिमिनेटरमार्फत बाँकी टिममध्येबाट अन्तिम प्रतिस्पर्धी छनोट हुनेछ। फाइनल खेल जुन २ तारिखका लागि तय गरिएको छ, जहाँ २०२५ को नयाँ आईपीएल विजेता तय हुनेछ।