काठमाडौँ । तिल गाउँमा गएको पहिरोपछि बिस्तारै राहत सामग्रीहरू बस्तीमा पुग्न थालेका छन् । गएको शनिबार प्रदेश सरकारले पठाएको राहत सामग्री सोमबार बस्तीमा पुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए । उनका अनुसार २० क्विन्टल मैदा, पाँचवटा ठूलो टेन्ट, १८ थान सोलार सेट लगायतका राहत सामग्री तिल गाउँमा पुगिसकेको बताए ।
राहत वितरणमा स्थानीय तहका प्रतिनिधिहरू समेत सक्रिय छन् । नाम्खा गाउँपालिका–६ का वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार, प्रदेश सरकारले पठाएको राहत सामग्री बोकेर आफूहरू बस्तीको लागि अघि बढेको जानकारी दिए । 'हामी तिल गाउँतर्फ जाँदैछौं, चुङखोलाबाट अघि बढेका छौँ । यहाँबाट सामान बोकेर बस्तीसम्म पुग्न एक÷डेढ घण्टा लाग्छ,' उनले भने।

यसैबीच, आधार नेपाल संस्थाले पनि १३ थान सोलार सेट, औषधी, लुगाफाटो, तरकारीका बिउसहित अन्य स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । राहत सामग्री बोक्ने कार्य दुर्गम भौगोलिक अवस्थाका कारण चुनौतीपूर्ण बनेको छ।
पहिरोपछि बस्ती सुरक्षित छ वा छैन भन्ने विषयमा यकिन तथ्य आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । उनका अनुसार काठमाडौँबाट पुगेको विज्ञ टोली पहिरोस्थलमा पुगेको छ र अहिले अध्ययनको क्रममा छ। उनले भने, 'हाल बस्तीमा तत्कालका लागि मुख्य समस्या देखिएको छैन तर यो बस्ती पूर्ण रूपमा सुरक्षित छ कि छैन भन्ने विषयमा विज्ञको अध्ययन रिपोर्ट अत्यन्त महत्त्वपूर्ण हुन्छ ।'
खानेपानी, बाटो र पुलको समस्या
पहिरोपछि सबैभन्दा ठूलो समस्या खानेपानी र यातायातको रहेको नाम्खा गाउँपालिका अध्यक्ष प्रमे बहादुर लामाले जानकारी दिए । उनका अनुसार, 'अझै पनि थुप्रै समस्या छन् - खानेपानी छैन, बाटो छैन, खोलामा पुल छैन, जसले गर्दा बस्तीमा पुग्न कठिनाइ भएको छ।'
उत्तरी नाम्खा गाउँँपालिका– ६ को लिमीको तिल गाउँँका पहिरो पीडितको पालमा बस्नु परिरहेको छ । गाउँ पहिरोको जोखिममा देखिएपछि स्थानीयलाई सुरक्षित राख्न गाउँको पश्चिमपट्टिको सुरक्षित स्थानमा पाल टाँगेर बस्ने ब्यवस्था गरिएको हो । सम्भावित पहिरो आउने डर र स्थानीयलाई सुरक्षित राख्न खुला चौरमा पाल टाँगेर राति वस्ने ब्यवस्था गरिएको लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए ।
उनले जेठ १ गते राति पहिरो आएको पछिल्लो दिन तिल गाउँ पुगेर सो ब्यवस्था गरेका थिए। सो स्थान केही सुरक्षित देखिएपछि तिल गाउँवासी सबैलाई उक्त स्थानमा वस्ने ब्यवस्था गरिएको हो । बिहान घरमा आउने काम गर्ने र राति मात्र उनी पालमा गएर सुत्ने गर्दै आएका छन् । १९ घरधुरीका ३२ जनालाई सो स्थानमा अस्थायी वासको ब्यवस्था गरिएको हो। पहिरोे दुई घरधुरीको नजिकैबाट गएको छ भने जोखिममा भने पूरै गाउँ रहेको छ।