हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा गएको भीषण पहिरोले एक हप्ताभन्दा बढी समय बितिसक्दा पनि स्थानीय नागरिकहरू त्रासमै बाँचिरहेका छन् । संघ र प्रदेश सरकारबाट 'हेलिकप्टरबाट राहत पठाउँछौ' भन्ने आश्वासन मात्रै आएको तर व्यवहारमा केही नदेखिएको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् ।
नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले 'आजै आउँछ भनियो, तर एक हप्ता बितिसक्दा पनि केही आइपुगेको छैन' भन्दै असन्तुष्टि पोखे। उनका अनुसार, तत्काल बस्तीमा त्रिपाल र खानेपानीको व्यवस्था गर्नुपर्ने भए पनि वडा कार्यालय रहेको हल्जीबाट तिलगाउँसम्म पुर्याउने अर्को कुनै विकल्प छैन । बाढीले तिलगाउँ जाने बाटो पूर्ण रूपमा भत्काएकोले ढुवानीका लागि प्रयोग गरिने याकलाई समेत हिँड्न बाटो नभएको उनले बताए।
'खानेपानीका संरचनाहरू भत्किएपछि हामीले पाइपको व्यवस्थापन गर्न माग गरेका थियौँ। खानेपानी कार्यालयले पाइप पठाएको छ, तर ढुवानी गर्न सकिने अवस्था छैन । अहिले पाइपहरू वडा कार्यालयमा थन्किएका छन्। मान्छेले बोकेर लैजाने अवस्था पनि छैन,' वडाध्यक्ष तामाङले समस्याबारे कर्णाली खबरलाई जानकारी दिए ।
स्थानीय कुण्डप फुर्वा लामाले रातभर खुला स्थानमा सुत्ने र दिउँसो घर भएको स्थानमा जाने गरेको सुनाए । रातभर छानो नहुँदा चिसोमा निकै समस्या झेल्नुपरेको उनको गुनासो छ। यति मात्रै होइन, उनीहरूले शुद्ध पिउने पानीसमेत पाउन सकेका छैनन् । 'बाढीले खानेपानीका स्रोतहरू सबै बगाएको छ। भएको पानीमा लेदो मिसिएको छ। गाउँ नजिकै पानी छ तर ल्याउन पाइप छैनन्,' उनले भने।
नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामाले केन्द्र र प्रदेश सरकारको उदासीनताप्रति चिन्ता व्यक्त गर्दै भने, 'तिलगाउँको पीडा सुनाउँदा सुनाउँदै टाउको दुखिसक्यो, तर माथिका संयन्त्रहरूले नसुनेझैं गर्छन् । 'पटक–पटक राहत र व्यवस्थापनको माग गर्दा पनि 'आज आउँछ, भोलि आउँछ' भन्ने भरमा एक साता बितेको र अन्ततः गाउँपालिकाले नै आफ्नै पहलमा राहत वितरण गरेको अध्यक्ष लामाले जानकारी दिए ।
प्राविधिक टोलीको पर्खाइमा स्थायी समाधान
यता, गृह मन्त्रालयका सूचना अधिकारी रविन्द्र शर्माले प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा काम भइरहेको बताए। जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले स्थायी समाधानका लागि प्राविधिक अध्ययन अपरिहार्य रहेको जानकारी दिए । 'बस्तीमै पुनः बस्न सकिन्छ कि सकिँदैन भन्ने निर्णय प्राविधिक दृष्टिकोणबाट मूल्यांकनपछि हुनेछ,' पाण्डेले भने ।
उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत तीनजना विज्ञसहितको प्राविधिक टोली काठमाडौंबाट हिँडिसकेको छ। मौसम प्रतिकूलताका कारण टोली नेपालगञ्जमै रोकिएको भए पनि भोलि बिहान हुम्ला आउने तयारीमा रहेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार तिलगाउँबासी अहिले बिहान-दिउँसो आफ्नै घरमा बस्ने गरे पनि साँझपख पानी र हिमपातको त्रासमा त्रिपाल टाँगिएको विद्यालयमा बस्ने गरेका छन्। 'घर पूरै भत्किएको छैन, तर रात परेपछि सुरक्षित ठाउँमा बस्नुहुन्छ,' पाण्डेले भने।
अहिलेका लागि करिब दुई किलोमिटर लामो पानीको पाइप राखेर शुद्ध खानेपानी उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारीले बताए । 'दुई दिनअघि नै पाइपलाइन जडान भइसकेको छ,' पाण्डेले भने। त्यसैगरी, खाद्यान्न तथा लत्ताकपडाको राहत पनि पहिरो प्रभावित क्षेत्रमा पठाइसकिएको उनको भनाइ छ ।
निन्द्रामा ओली र कँडेल सरकार
यसरी हेर्दा हिमताल फूटेर कल्पनै नगरिएको पहिरोले विचल्ली हुँदा संघ र प्रदेश सरकार भने आरामको निन्द्रामा सुतिरहेको आम नागरिकको बुझाई छ । जलवायु परिवर्तनको असरले हिमताल फूटेर गाउँ नै जोखिममा पर्दा पनि न प्रधानमन्त्री केपी शर्मा ओली सरकारको ध्यान गएको छ न त कर्णाली प्रदेश सरकारले कुनै महत्वका साथ उद्धार तथा राहतको काम गरेको छ ।
यसले हुम्ली जनता मारमा पर्दा आफ्नै भनिएको मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको कर्णाली प्रदेश सरकार पनि निन्द्रामै रहेको कतिपयको भनाई छ । कम्तीमा केन्द्र सरकारसँग समन्वय गर्ने, मुख्यमन्त्रीबाटै पहलकदमी लिएर तत्काल सरकारको नजिकको महसुस गराउने न्युनतम काम पनि कँडेल नेतृत्वको प्रदेश सरकारबाट भएको छैन । यसले संघीयतामा प्रदेश सरकारकै अस्तित्व र औचित्यमै प्रश्न उठेको छ ।
जलवायु परिवर्तनले यति ठूलो विपद्को पूर्व संकटका रुपमा हुम्लाको हिमपहिरो भएपनि यसबारे संघीय र कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकमा छलफल समेत भएको देखिदैन । यो अर्को बेवास्ता र चिन्ताको विषय मानिएको छ ।