सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेशलाई आरोग्य पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित आवश्यक पूर्वाधार विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमबार वीरेन्द्रनगरमा आयोजित ‘आरोग्य पर्यटनका लागि स्वजागरण कार्यक्रम’मा बोल्दै मुख्यमन्त्री कडेलले जीवन विज्ञान फाउण्डेशनद्वारा आयोजित यो कार्यक्रम प्रदेशको स्वास्थ्य पर्यटनको सम्भावनालाई उजागर गर्ने महत्त्वपूर्ण प्रयास भएको उल्लेख गरे ।
'कर्णाली प्रदेशमा जीवन विज्ञान र आरोग्य पर्यटनको अपार सम्भावना छ। यस अभियानलाई प्रदेश सरकारले नीतिगत तथा पूर्वाधारको हिसाबले पूर्ण सहयोग गर्नेछ,' मुख्यमन्त्री कडेलले भने ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, सभामुख, उपसभामुख, र सुर्खेतस्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो ।
कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ एल. पी. भानु शर्माले आरोग्य पर्यटनको अवधारणा प्रस्तुत गरेका थिए भने विशेषज्ञ रमेश नेपालले सहभागीहरूलाई स्वरोजगारका लागि ध्यान अभ्यास गराएका थिए ।
स्वजागरण कार्यक्रम चक्र विज्ञान कार्यक्रमको अवसरमा आयोजना गरिएको थियो । जीवन विज्ञान फाउण्डेशनले सञ्चालन गरिरहेको चक्र विज्ञान कार्यक्रम जेठ ७ गतेसम्म सञ्चालन हुनेछ, जसमा कर्णाली प्रदेशका करिब २ सय ५० बढी सहभागीले सहभागिता जनाएका छन् ।
मुख्यमन्त्री कडेलले कर्णालीको स्वच्छ वातावरण, जैविक विविधता र सांस्कृतिक सम्पदालाई उपयोग गरेर प्रदेशलाई आरोग्य पर्यटनको नमुना क्षेत्रको रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताए।