सुर्खेत । ‘स्वास्थ्य, मित्रता एवं राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित ‘पृतनापति ट्रफी २०८२’ सम्पन्न भएको छ। यही जेठ १ देखि ५ गतेसम्म सञ्चालन गरिएको प्रतियोगितामा भलिबल, फुटबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्सलगायतका विभिन्न खेल विधामा प्रतिस्पर्धा भएको हो ।
प्रतियोगिताको भलिबल फाइनल खेल सोमबार सम्पन्न भयो, जहाँ कालीबहादुर गण विजयी बन्यो। खेलको पहिलो सेट देवीदत्त गणले जिते पनि त्यसपछिका तीन सेट लगातार जित्दै कालीबहादुर गणले उपाधि हात पारेको हो। यस सँगै देवीदत्त गण उपविजेता बन्यो ।
प्रतियोगितामा श्री नं ४ बाहिनी अड्डा समग्र खेलतर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको आयोजकले जनाएको छ । प्रतियोगितामा करिब तीन सयभन्दा बढी खेलाडी, रेफ्री, अफिसियल तथा व्यवस्थापकको सहभागिता रहेको उत्तरपश्चिम पृतना हेडक्वार्टरका चिफ अफ स्टाफ सहायक रथी दिनेश रजौरले जानकारी दिए ।
विजयी खेलाडीहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गर्दै उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी श्री अनुपजङ्ग थापाले सफलताप्रति बधाई ज्ञापन गरे । उनले यस्ता प्रतियोगिताले सैनिकहरूको शारीरिक क्षमता, अनुशासन र टोली भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे ।
समापन कार्यक्रममा उपरथी श्री थापासँगै चिफ अफ स्टाफ, कर्णाली प्रदेश राष्ट्रिय अनुसन्धान निर्देशक, प्रदेश प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलगायत सुरक्षा निकायका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो ।