नाम : राजीवविक्रम शाह
पेशा : समाजसेवा र राजनीति
कर्णाली व्यक्तित्व नं. : ५५
राजनीति सँधै सामाजिक सेवाका रुपमा परिचित छ । तर नेपालको हकमा राजनीति यति धेरै बदनाम छ कि त्यसले समाजमा सकारात्मक भन्दा धेरै नकारात्मक भ्रमहरु फैलाएको पाइन्छ । खासगरी सामाजिक रुपमा राजनीतिप्रति वितृष्णा बढ्दो छ । तर कर्णालीमा एक जना यस्ता राजनीतिज्ञ छन्, जसले समाजसेवाको बलमा राजनीतिमा स्थाना बनाएका छन् ।
जसको नाम हो, राजीवविक्रम शाह । जाजरकोट स्थायी घर भएका शाह, प्राय काठमाडौँमा बस्छन् । अहिले उनी कर्णाली प्रदेश सरकारमा मन्त्री छन् । लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय शाहले राजनीतिलाई समाजसेवाको बाटोमा अगाडि बढाइरहेका छन् ।
प्राय पदमा हुँदा नागरिक सेवा गर्ने तर त्यसमा पनि भ्रष्टाचार गर्ने नेपाली नेताहरुको लाजमर्दो विगत छ । तर राजीवविक्रम शाह भने कर्णालीका प्राय संकटमा विशाल हृद्य बनाएर सहयोग गर्ने गर्छन् ।
साठीको दशकपछि जाजरकोटमा झाडापखाला प्रकोपकै बेला उनले काठमाडौँबाट हेलिकोप्टरमार्फत डाक्टर ल्याएर नागरिक बचाउन लागि परेका थिए । जाजरकोटी जनताका हरेक सुख दुःखमा सँधै साथ रहने उनी लामो समयदेखि चुनाव पनि लड्दै आएका थिए ।

तर उनले जित हासिल गरेका थिएनन् । यसपटक प्रदेशसभामा उनले जित हासिल गरेपछि मन्त्री बन्ने अवसर पाए । उनले मन्त्री भएपछि त्यस्तो देखिने र सबैले दीर्घकालीन रुपमा सम्झिने काम गर्न सकेका त छैनन्, तर उनले त्यसका लागि उपयुक्त वातावरण र टिम नपाएको अनुमान गरिएको छ ।
राजनीतिसँगै नेपाली खेलकुद क्षेत्रको पनि नेतृत्व गरेका उनले समाजसेवालाई पहिलो स्थानमा राख्दै आएका छन् । कर्णालीमा कोरोना महामारीको बेला उनले कर्णाली प्रदेश सरकारलाई व्यक्तिगत रुपमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेका थिए । यी केही देखिने सहयोग भएपनि उनले प्राय सामाजिक रुपमा धेरै सहयोग गर्दै आएका छन् । पैतिक सम्पति भएका कारण उनले सामाजिक सेवा फराकिलो बनाउँदा धेरैलाई प्रेरणा दिएको छ ।
कर्णालीको राजनीतिमा आत्मकेन्द्रित गतिविधि बढिरहेका बेला शाहको उपस्थितीले राजनीतिलाई साच्चिकै समाजसेवाको बाटोमा अग्रसर बनाएको देखिन्छ । तर यसलाई कायमै राख्न सबैजसो नेताहरुलाई चुनौति भने पक्कै छ।