[कर्णालीखबरले कर्णाली प्रदेशसभा र प्रतिनिधिसभामा कर्णालीबाट निर्वाचित सांसदबारे छोटो विवरणसहितको सामग्री समाचार प्रकाशित गर्न सुरु गरेको छ । यी सामग्रीहरुमा कर्णालीका सांसदको संघर्ष, सफलता, चुनौति र आगामी बाटो तथा चुनौतिपूर्ण समयमा उनीहरुको जिम्मेवारीबारे केही विश्लेषण समेटिनेछ : सम्पादक]
नाम : रणसिंह परियार
पार्टी : नेकपा माओवादी केन्द्र
ठेगाना : अदानचुली गाउँपालिका, कल्खे गाँउ, हुम्ला
जन्ममिति : २०३३ साल पुस १५
आमाको नाम : गडकला परियार
बुवाको नाम : जैबिरे परियार
शैक्षिक योग्यता : प्लस टू
पद : कर्णाली प्रदेशसभा सदस्य
सुर्खेत : यो समाचार सामग्री तयार पार्दासम्म पनि सदरमुकामसम्म सडक नपुगेको जिल्लाका रुपमा हुम्ला परिचित छ । विभेदका हिसाबले सबैभन्दा धेरै जकडिएको प्रदेश कर्णालीमा हुम्ला सिरानमा छ । गाडी नपुगेको ठाउँमा शिक्षा, सचेतना र समाज परिवर्तनको सोच पुग्न आफैँमा कठिन हो । जुन अहिलेसम्म पनि छदैँछ । यद्यपी परिवर्तनका पाइलाहरु भने रोकिएका छैनन् ।
हुम्लाको विकटमा पनि विकट अदानचुली गाउँपालिकाको कल्खे गाउँबाट संघर्ष गरेर कर्णाली प्रदेशसभामा प्रत्यक्ष चुनाव जित्ने दलित समुदायका पहिलो व्यक्ति बनेका छन्, रणसिंह परियार । तत्कालीन माओवादी पार्टीका लागि गाउँ घरबाट विद्रोह गरि जनयुद्धमा लामबद्ध भएका उनले झण्डै ३० वर्षको कठिन संघर्ष र धैर्यताबाट हुम्लामा दलित समुदायबाट राजनीतिज्ञका रुपमा इतिहास रचेका छन् ।
१० वर्ष कठिन जनयुद्ध, त्यसपछिको जनआन्दोलनमा सामेल भएपछि पनि माओवादी पार्टीभित्रैको विचलनमा पनि आफ्नो धैर्यता नटुटाएका परियारले २०७९ सालको प्रदेशसभा चुनावमा कर्णालीमा प्रत्यक्षतर्फ चुनाव जित्ने हुम्लाका लागि पहिलो र ऐतिहासिक सांसद बनेका छन् ।
आमा गडकला र बुवा जैबिरे परियारको कोखबाट जन्मिएका रणसिंह प्रत्यक्ष चुनावका लागि माओवादीबाट टिकट पाउनु नै ऐतिहासिक मानिएको थियो । त्यो इतिहास उनले विजयी भएर प्रमाणित गरेका छन् । सत्ता गठबन्धनको बलमा एमालेका दलबहादुर फडेरा र कांग्रेसका स्वतन्त्र उम्मेद्वार मंगल शाहीलाई हराउँदै चुनाव जितेका उनले खुल्ने गरि उच्च शिक्षा पाएका छैनन् ।
विद्यालय शिक्षा बडो मुश्किकले आंशिक रुपमा हासिल गरेका उनी राजनीतिका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आउन पनि ठूलै युद्ध लड्नुपर्ने कठिन संघर्ष पार गरेका व्यक्ति हुन् । दसैँपछिको बाढी र पहिरोका कारण बाटो अस्तव्यस्त हुँदा धेरै कठिन संघर्ष गरेर चुनावी मैदानमा होमिएका उनले ६ हजार ४ सय ८१ मत ल्याएर विजय हासिल गरेका हुन् ।
विजयी भएको प्रमाणपत्र निर्वाचन कार्यालयबाट प्राप्त गर्दै क्रमशः दायाबाट सांसद रणसिंह परियार, बीचमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही र प्रतिनिधिसभा सांसद कार्चेन लामा । तस्बिर : दाने बोहरा/हुम्ला
उनले आफ्ना प्रतिद्वन्द्वीलाई १ हजार भन्दा फराकिलो मतान्तरले पराजित गरे । बाटो, पहिरो र कठिनाईका कारण वारेसनामामार्फत उम्मेद्वारी दर्ता गराएका उनले कांग्रेस, माओवादी कार्यकर्ताको साथका कारण जित हासिल गर्न सफल भएका हुन् ।
हुम्लाको पनि विकट क्षेत्रमा राजनीति गर्न जति कठिन छ, एक दलित समुदायका व्यक्तिले उचारचढावपूर्ण संघर्ष र सफता पाउन त्यो भन्दा धेरै कठिन छ । त्यो कठिन समय पार गरेर हुम्लाबाट कर्णाली प्रदेशसभामा प्रत्यक्षमा चुनाव जित्ने कीर्तिमान राखेका परियारले अब हुम्लाका दलित समूदायको प्रतिनिधित्व गर्दै सिंगो कर्णालीमा झन् कठिन राजनीति गर्नुपर्नेछ ।
२०३३ सालमा जन्मेका परियारले यसबीचमा भोगेका जातीय विभेदको लामो श्रृङ्खला तोड्दै जुन इतिहास लेखेका छन्, अब त्यसलाई कर्णाली प्रदेशसभाबाट विभेदको जड उखेल्ने जिम्मेवारी पूरा गर्नुपर्ने चुनौति छ ।
यसअघि पहिलो कर्णाली प्रदेशसभामा सीता नेपाली, राजु नेपाली, दानसिंह परियार, झोवा विश्वकर्मा र रातो कामी सांसद भएका थिए । त्यसमध्ये सीता नेपाली र रातो कामी मन्त्री बन्न पनि सफल भए । तर उनीहरुले कर्णालीका दलित समूदायका लागि उल्लेख्य काम गर्न सकेनन् ।
त्यसमाथि पछिल्लो समय विभेदको जड अन्त्य गर्न भनेर जनयुद्ध गरेको माओवादी नै दलित समूदायमाथि श्रृङ्खलाबद्ध रुपमा नरसंहार मच्चाउँदा पनि त्यसको बचाउमा लागिरहेको परिदृश्य आँखै अगाडि भयानक बनिरहेको छ । यस्तो अवस्थामा जनताको मतले हुम्ला जस्तो जिल्लाबाट विजयी भएका रणसिंहमाथि जिम्मेवारी थपिएको छ । त्यसलाई कसरी पूरा गर्छन् ? हेर्न बाँकी छ ।
तर उनले हुम्लाबाट कोरिएको कठिन संघर्षको इतिहासमा खुशी व्यक्त गर्दै टिकट दिने नेतृत्वदेखि मत दिएर विजयी बनाउने मतदाताप्रति धन्यवाद दिएका छन् ।
‘इतिहासमा पहिलोपटक दलित समूदायलाई सम्बोधन गरेको मननयोग्य समय । गौरवशाली पार्टी नेकपा माओवादी केन्द्रको केन्द्रीय नेतृत्व, प्रदेश नेतृत्व र जिल्ला नेतृत्वको पहलमा पहिलोपटक टिकट प्रदान गरि ऐतिहासिक सर्वहारा वर्गप्रति गरेको सम्मानप्रति हार्दिक आभार प्रकट गर्दछु,’ हुम्लाबाट प्रदेशसभा सदस्यमा विजयी भएपछि सांसद बनेका परियारले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हुम्लाको प्रदेश (क) मा उम्मेदवारी दिदैँ गर्दा ठुलो चुनौती खेप्नु परेको थियो । यो चुनौतीलाई परास्त गर्न अध्यक्ष प्रचण्ड लगायत गठबन्धनका सम्पूर्ण नेता कार्यकर्ता र विजय गराउने मतदातालाई धन्यवाद दिन चाहन्छु ।’