नाम : सिर्जना राउत
पेशा : उड्डयन क्षेत्र
पद : पाइलट, नेपाल एयरलाइन्स
कर्णाली व्यक्तित्व नं. : ६५
सानो छँदा स्कुलमा धेरैलाई एउटै प्रश्न बारम्बार गरिन्थ्यो, ठूलो भएपछि के बन्ने ? अनि धेरै विद्यार्थीलाई त्यतिबेलाका चर्चित तीन शब्द कण्ठै हुन्थ्यो । ती शब्द हुन्, डाक्टर, इन्जिनियर र पाइलट ।
यी तीन वटा शब्द मात्रै नभएर पेशा हुन् । यी पेशा चर्चित र सम्मानित प्रोफेसन मानिएका पनि हुन् । तर माथिका यी तीन शब्द धेरैपटक भन्ने विद्यार्थीमध्ये मुश्किलले १० वर्षमा कोही एउटा वा दुई वटा विद्यार्थी मात्रै बन्न सक्थे, डाक्टर, इन्जिनियर वा पाइलट ।
शहरमा पढेका विद्यार्थीका लागि डाक्टर वा इन्जिनियर पढ्नु र बन्नु कुनै गाह्रो काम थिएन । तर गाउँमा पढेका र पढ्नै धौ धौ भएका विद्यार्थीलाई यी तीन वटा शब्द भन्नु फेसन जस्तो हुन्थ्यो । भन्दिनका लागि भन्दिने हो जस्तो ।
आमाबुवाको गतिलो आधार र आम्दानीको फराकिलो स्रोत भएमा छोरा वा छोरीले डाक्टर वा इन्जिनियर पढ्नु सम्मानको विषय थियो । तर पाइलट पढ्न वा बन्न भने पैँसा, सम्मान र स्रोत मात्रै भएर हुदैन्थ्यो, त्यसका लागि पढाउने आमा बुवा र पढ्ने छोराछोरीमा पनि ठूलै हिम्मत चाहिन्थ्यो ।
किनकी पाइलट बन्नु जमीनमा हिड्नु वा दौडिनु होइन, यो त आकाशमा उड्नु थियो । कर्णालीमा दशकपहिलेसम्म पनि पाइलट पढ्छु वा पाइलट बन्छु भन्नु पनि धेरै ठूलो हिम्मत र स्कुलभरीको चर्चाको विषय हुन्थ्यो । किनकी यो विषय पढछ्ु वा पढेर पाइलट बन्छु भन्नु चानचुने कुरा थिएन ।
त्यसमाथि कर्णालीकी छोरीहरुका लागि त असम्भव कुरा जस्तै थियो । अहिले पनि कतिपय कर्णालीका ग्रामीण क्षेत्रमा स्कुलसम्म जोडबलले पढाएपनि छोरीलाई उनीहरुले चाहेको वा रोजेको विषय पढ्ने र सम्मानित पेशाकर्मी बन्नु सपना जस्तै छ ।
तर कर्णालीमा अहिले सिर्जना राउत एउटा यस्तो नाम बनेको छ, जसले कर्णालीका छोरीहरुका लागि ठूलो प्रेरणा अनि समग्र कर्णालीबासीहरुका लागि इतिहास रच्ने गर्विलो नाम बनेको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा जन्मिएकी सिर्जना राउतले बाल्यकाल सुन्दर नगरीमै बिताएकी हुन् । सानैदेखि जेहेन्दार र तिक्ष्ण स्वभावकी उनी एक ठूलो पेशा रोज्न चाहन्थिन । जहाँ जोखिम होस्, तर नामले इतिहास रचोस् । जोखिम लिएर एउटा त्यस्तो पेशा उनले छनौट गरिन्, जुन नेपालमा पढ्न पाइदैन्थ्यो ।
यसका लागि उनी स्कुले जीवनमा उत्कृष्ट अंक ल्याएर दक्षिण अफ्रिका पुगिन् । दक्षिण अफ्रिकामा सफलतापूर्वक कोर्स पाइलट पूरा गरिन् । अनि ठूला विमान उडाउनका लागि आवश्यक पर्ने विमान चालक अनुमति पत्र अर्थात लाइसेन्स कोर्सका लागि इन्डोनेसिया पुगिन् ।
दक्षिण अफ्रिका र इण्डोनेसियामा रात दिन मेहनत गरेर उनले ‘बेसिक एण्ड एडभान्स पाइलट कोर्स’ पूरा गरेर काठमाडौँ उत्रिइन् । उनले टेस्ट फ्लाइट उडान गरेकी थिइन् । तर उनलाई जिम्मेवारी थिएन । उनले त्यो जिम्मेवारी काठमाडौँ उत्रेपछि आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र देखाएर नेपाल वायु सेवा निगममा पाइलटका रुपमा नियुक्ती पाइन् ।
त्यसपछि उनले केही फ्लाइटमा ककपिटमा बसिन् । जब नेपाल वायु सेवा निगमले एउटा इतिहास कोर्दै पहिलो महिला पाइटलका रुपमा भावना पन्तलाई पायो, त्यही दिन सुर्खेतकी सिर्जना राउत को–पाइलट सिटमा थिइन् ।
नेपालको उडड्यन इतिहासमा भावना पन्तले पहिलो महिला पाइटलको इतिहास बनाउँदा सिर्जना गुमनाम थिइन् । पहिलो हुनेको जति चर्चा हुन्छ, दोस्रो वा तेस्रो हुनेको चर्चा प्राय हुँदैन ।
त्यसकारण उनी आफ्नो इतिहास कोरिएको हेर्न लामै समय पर्खिनुप¥यो । जब सुर्खेतमा पाँचौ संस्करणको कर्णाली उत्सवमा उनले आफ्नो कथा भन्ने अवसर पाइन्, त्यसपछि उनी कर्णालीबाटै मिडियाका हेडलाइनमा छाइन् ।
कर्णालीकी पहिलो महिला पाइटल बनेकी सिर्जना राउतले कर्णालीका लाखौ महिला तथा छोरीचेलीका लागि एउटा इतिहास र प्रेरणाको नाम कोरेकी छन् । यो नाम कहिल्यै मेटिने त छैन नै तर सिर्जना जस्ता सयौँ पाइलट जन्माउन कर्णालीलाई अझै केही दशक लाग्ने पक्का छ । तर त्यसका लागि सबैभन्दा ठूलो प्रेरणा र ऐतिहासिक नाम सिर्जना राउत रहिरहने छ ।
‘कर्णालीका १०० व्यक्तित्व’को पूरा सूचि सार्वजनिक