सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा क्षेत्रलाई विपद्को समयमा जनताको भरोसायोग्य साथी बन्नुपर्नेमा जोड दिएका छन् ।
बीरेन्द्रनगरमा आयोजित नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले कर्णाली जस्तो भौगोलिक रूपमा विकट र जोखिमपूर्ण प्रदेशमा बीमा सेवाको पहुँचलाई जीवनरक्षक अस्त्रका रूपमा लिनुपर्ने बताएका हुन् ।
मुख्यमन्त्री कँडेलले बीमा कम्पनीहरूप्रति अझै पनि जनस्तरमा अविश्वास रहँदै आएको उल्लेख गर्दै उक्त धारणा परिवर्तन गर्न बीमा कम्पनीहरूले सेवा, पारदर्शिता र पहुँचमा सुधार ल्याउनु आवश्यक रहेको बताए । “बीमा कम्पनीले जनताको विश्वास जित्न नसक्दा सेवा प्रभावकारी हुन सकेको छैन,” उनले भने, “अबको प्राथमिकता विश्वास निर्माण र सेवा विस्तारमा हुनुपर्छ ।”
मुख्यमन्त्री कँडेलले बीमा सेवा अहिले मुख्य रूपमा सुगम क्षेत्रमा सीमित रहेको उल्लेख गर्दै कर्णालीका प्रत्येक स्थानीय तहमा बीमा सेवा विस्तार गर्न बीमा प्राधिकरणलाई आग्रह गरे। उनले भने, “केवल सुगम जिल्लामा सीमित नहुने, दुर्गम जिल्लामा समेत सेवा पुर्याउनेतर्फ प्राधिकरण गम्भीर हुनु आवश्यक छ।”
उनले स्वास्थ्य, कृषि, पशुपालन, आवास तथा विपद् बीमा जस्ता कार्यक्रमहरूलाई कर्णाली प्रदेशको सन्दर्भमा अत्यन्तै उपयुक्त र आवश्यक बताउँदै ती क्षेत्रमा प्राथमिकता दिएर बीमा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका छन्।
कर्णाली सरकारले सामूहिक जोखिम बीमा तथा निजी घर बीमाजस्ता कार्यक्रम सुरु गरिसकेको जानकारी दिँदै मुख्यमन्त्री कँडेलले ती कार्यक्रम अरू प्रदेशले पनि अनुकरण गर्न सक्ने किसिमले अघि बढिरहेको दाबी गरे। उनले यस्तो प्रयासले जनताको सुरक्षाबोध र आर्थिक प्रतिरोधात्मक क्षमतामा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री कँडेलले बीमा प्राधिकरणलाई शुभकामना दिँदै आगामी दिनमा बीमा सेवा कर्णालीका घरघरमा पुर्याउने अभियानमा प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे । “जनताको विपद्को साथी बन्न बीमा क्षेत्र अझ बढी उत्तरदायी बन्नुपर्छ,” उनले जोड दिए।