सुर्खेत – कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित गुर्भाकोट नगरपालिका–१३ मा रहेको बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र २०८२/८३ देखि प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन हुने भएको छ। संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् को वैशाख २६ गते बसेको २०७औँ बैठकले नर्सिङ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
गुर्भाकोट नगरपालिकाले आवश्यक जग्गा, भौतिक पूर्वाधार तथा प्रारम्भिक आर्थिक स्रोत व्यवस्थापन गर्दै स्थानीय तहकै पहलमा कार्यक्रम थालनी गर्न अनुमति प्राप्त गरेको हो । परिषद्को आंगिक शिक्षालयका रूपमा सञ्चालन हुने यो शिक्षालय चिकित्सा शिक्षा आयोगको नयाँ कानुनअनुसार सम्बन्धन प्राप्त गर्ने कर्णालीमै पहिलो शिक्षालय बन्ने गौरव हासिल गर्न सफल भएको छ।
स्थानीय तह, प्रदेश सरकार र संघीय स्तरका निकायहरूको संयुक्त प्रयासबाट अगाडि बढेको यस पहलले पूर्वी सुर्खेतका विद्यार्थीलाई घरमै नर्सिङ अध्ययन गर्ने अवसर प्रदान गर्दै शिक्षामा पहुँच विस्तार गर्नेछ । यसले राजधानी तथा अन्य सहर जानुपर्ने बाध्यता हटाउनुका साथै युवायुवतीका लागि शिक्षा र रोजगारीका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।
पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, पूर्वमन्त्री खड्कबहादुर पोखरेल, पूर्वमुख्यमन्त्री जीवन शाही, मुख्यमन्त्री यामलाल कँडेल, शिक्षा मन्त्रालयको केन्द्रीय तथा प्रदेश कार्यालयलगायतको विशेष पहल, मार्गदर्शन र सहकार्यले ऐतिहासिक उपलब्धि सम्भव भएको गुर्भाकोट नगर प्रमुख हस्त पुनले बताए ।
उनले भने, “स्थानीय तहमा गुणस्तरीय नर्सिङ शिक्षा सुरु भएसँगै गुर्भाकोट अब मेडिकल शिक्षाको केन्द्रको रूपमा अघि बढ्नेछ। यसले नर्सिङ जनशक्ति उत्पादनसँगै स्वास्थ्य सेवा क्षेत्रमा गुणस्तर वृद्धिमा समेत टेवा पुग्नेछ।”