सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समावेशी सहभागिता र संस्थागत समन्वयमार्फत मात्र दिगो विकास सम्भव हुने धारणा व्यक्त गरेका छन् ।
क्षेत्रीय होटल व्यवसायीको समन्वयमा चितवनले सुरु गरेको ‘घुमौँ सौराहा, चितवन अभियान’ अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले विकासलाई सरकार र कर्मचारीको जिम्मेवारी मात्र नभई सबै पक्षको साझा दायित्वको रूपमा लिनुपर्ने आवश्यकता औँल्याए ।
“यदि हामी सबैले समन्वय र सहकार्यका साथ अघि बढ्यौं भने मात्र विकास सम्भव हुन्छ,” उनले भने, “देश विकासमा सरकारको भूमिका महत्त्वपूर्ण छ, तर निजी क्षेत्रको सक्रियता र अग्रसरता बिना त्यो लक्ष्य प्राप्त गर्न सकिँदैन।”
संघीय शासन प्रणाली अन्तर्गत नयाँ संरचना निर्माण भए पनि तिनलाई निर्देशन दिने कानुन पुराना रहेकाले जनअपेक्षाअनुरूप सेवा प्रवाहमा कठिनाइ भइरहेको उनको भनाइ थियो । “पुराना कानुनलाई विस्थापित गर्न ढिला गर्न मिल्दैन,” मुख्यमन्त्री कँडेलले जोड दिए ।
उनले कर्णाली प्रदेशको आन्तरिक आम्दानी वृद्धिका लागि पर्यटनलाई प्रमुख आधारका रूपमा लिनुपर्ने उल्लेख गर्दै पर्यटकीय सम्भावनाहरूको प्रभावकारी प्रवर्द्धनमा सबै सरोकारवाला निकायले संयुक्त प्रयास गर्नुपर्ने धारणा व्यक्त गरे ।
“राराताल, फोक्सुण्डो, छायाँनाथ र बाला त्रिपुरासुन्दरीजस्ता अनुपम पर्यटकीय गन्तव्यहरू विकासको मूलधारमा आउन नसक्दा ओझेलमा परेका छन्,” उनले भने, “कर्णाली करिडोर र भेरी करिडोरजस्ता पूर्वाधारमार्फत ती क्षेत्रमा पहुँच पुर्याउन सकिन्छ। अबको आवश्यकता भनेको सबै एकजुट भएर ती सम्भावनाको दोहन गर्नु हो ।”