सुर्खेत । कर्णाली प्रदेशको ऊर्जा आत्मनिर्भरता र समृद्धिसँग जोडिएको कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारणलाइन विस्तारको काम दुई वर्षपछि पुनः सुरु भएको छ। बाँकेको बानियाभार खण्डमा स्थानीय प्रशासनले कडा सुरक्षा व्यवस्था मिलाएपछि शनिवारदेखि निर्माण कार्य पुनः सञ्चालनमा आएको हो ।
यसअघि स्थानीयले तोकिएकोभन्दा बढी मुआब्जाको माग गर्दै बारम्बार अवरोध गरेपछि प्रसारणलाइन विस्तार रोकिएको थियो। कर्णाली प्रदेश सरकारको पहलमा लुम्बिनी प्रदेश, स्थानीय राजनीतिक दल, सरोकारवाला निकाय र सुरक्षा संस्थाबीचको समन्वयपछि काम अघि बढ्न सकेको हो।
नेपाल विद्युत प्राधिकरणका अनुसार करिब ७० करोड रुपैयाँ लागतको यस आयोजनामा १६२ वटा टावरमध्ये हालसम्म १५३ वटा निर्माण भइसकेका छन् । अबको लक्ष्य साउन महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नु रहेको छ ।
हालको ३३ केभी प्रसारण लाइन ‘ओभरलोडेड’ हुँदा सुर्खेतसहित कर्णालीमा नियमित विद्युत आपूर्ति बाधित हुने गरेको छ। जीर्ण संरचना र कमजोर क्षमताका कारण सानो हावाहुरी वा वर्षाले समेत विद्युत सेवा अवरुद्ध हुने समस्या रहेको छ। नयाँ १३२ केभी लाइन सम्पन्न भएपछि यी समस्या अन्त्य हुने विश्वास लिइएको छ।
आयोजना प्रमुख रविकुमार चौधरीले कर्णालीको आर्थिक विकासको मेरुदण्डका रूपमा हेरिएको यो आयोजनाले ऊर्जा आपूर्तिमा आत्मनिर्भरता ल्याउने र उद्योग, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताए ।
मुख्यमन्त्री यामलाल कँडेलको ध्यानाकर्षणपछि गृहमन्त्री रमेश लेखकले सुरक्षा मिलाएर अवरोध हटाउन निर्देशन दिएका थिए। बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले नागरिक जीवनसँग सम्बन्धित विकासमा अवरोध हटाउनु सबैको दायित्व भएको बताए ।
चार वर्षअघि सुरु भएको आयोजनामा स्वार्थ समूहको अवरोधका कारण निर्धारित समयमै काम सम्पन्न हुन नसकेको हो। अब प्रसारण लाइन पूरा भएपछि कर्णालीका विद्युत सेवाको गुणस्तरमा उल्लेखनीय सुधार हुने र विद्युतीकरण नपुगेका क्षेत्रसम्म सेवा विस्तार हुने अपेक्षा गरिएको छ।