काठमाडौँ : वैदेशिक रोजगारीको पीडा आम रुपमा सबै नेपालीलाई थाहा छ । वैदेशिक रोजगारीको पीडाको बारेमा धेरै सिर्जना भएका पनि छन् । पुस्तक लेख्नेदेखि चलचित्र बनाउनेसम्मले वैदेशिक रोजगारीको पीडा पोखेकै हुन् ।
तर प्रकाश सपूतले तीन वर्ष अगाडि सार्वजनिक गरेको ‘बोलमाया’ बोलको गीत र भिडियोले उनको परिचय नै बदलिदियो । गीतको धुन नै यति धेरै शक्तिशाली थियो कि त्यसले पुरा भिडियोको कथा बोल्थ्यो ।
कुनै एउटा डकुमेन्ट्री, फिल्मभन्दा पनि माथिल्लोस्तरको भिडियो बनाएर प्रकाश सपूतले नेपाली सांगितिक दूनियाँमा आफ्नो बेग्लै छवि बनाए । दश वर्ष नेपाली गीत संगीतमा संघर्ष गरेका उनले एउटा गीतको भिडियोबाट सर्वत्र चर्चा बटुले ।
त्यसअघि उनले धेरै गीत गाएका थिए । धेरै गीतमा मोडलिङ गरेका थिए । तर सफलता भने बोलमाया गीत र भिडियोले दियो । त्यसपछि उनको ‘गलबन्दी’ गीत झन् चर्चामा आयो । जसले पुराना भाकालाई आधुनिक पुस्तामाझ चर्चित गराउन ठूलो भूमिका खेल्यो ।
यी दुई गीतबाट असाध्यै चर्चित बनेका प्रकाश सपूत पछिल्लो समय नेपाली गीत संगीतमा एक फरक र उत्कृष्ट गायक तथा कलाकारको रुपमा परिचित छन् ।
हिजोआज प्रकाश सपूतको नयाँ गीत आयो भन्नेबित्तिकै युट्युबमा सर्च गरि गरि हेर्ने गरिन्छ । उनका गीत सञ्चारमाध्यममा फेरि फेरि बजाइन्छ । आम सर्वसाधारणको समस्यालाई टपक्क टिपेर गीत लेख्ने र मर्मस्पर्शी दृश्य देखाएर कथा बनाउँदै भिडियोमा देखाउने उनको शैली रोचक छ । त्यही क्षमता र रचनात्मक शैली तथा सिर्जनाका कारण प्रकाश सपूत आज आफ्नो सफलताको कथा दुनियाँको मुखबाट सुनिरहेका छन् ।
काठमाडौँमा प्रकाश सपूत जति सिर्जनशील र चर्चित छन्, कर्णालीका सुरज पण्डित पनि त्यति नै धेरै सिर्जनशील र क्षमतावान छन् । जसले गाएको ‘रेलको बाटो’ गीतले असाध्यै चर्चा पायो ।
अहिलेसम्म १८ वटाभन्दा धेरै गीत गाइसकेका पण्डितले कर्णालीको कथा हुबहु देखाउने ‘रेलको बाटो’ गीतबाट जति चर्चा पाए, त्यसले उनलाई सफलताको नयाँ बाटोमा हिडायो ।
लेखराज गिरीले लेखेको ‘रेलको बाटो’ गीतमा ‘हुम्ला कहिले मोटर पुग्ला’ थेगो बढी चर्चित रह्यो । कर्णालीको हुम्लामा अहिलेसम्म पनि मोटर नपुग्दा त्यहाँ मानिसले भोगिरहेको दैनन्दिन समस्या गीत र भिडियोमा ‘फिचरिङ’ छ ।
जुम्लाको मालाभिडमा जन्मिएका गायक तथा कलाकार पण्डितको सांगीतिक क्षेत्रमा रेलको बाटो गीत ‘टर्निङ प्वाइन्ट’ हो । तर त्यसअघि उनले आफैले काठमाडौँ आएर संघर्ष गर्दै निकालेको ‘ए मेरी टुल्की’ गीत ९० हजार रुपैयाँमा बिक्री भएको थियो । जुन उनको जीवनमा आंशिक सफलता थियो ।
उनले गीत गाउन थालेको २०६८ सालदेखि हो । उनको पहिलो गीत ‘माया गर्ने जीवन साथी’ बोलको हो । उनले अहिलेसम्म दुई दर्जन हाराहारीमा गीत गाइसकेका छन् ।
तर उनको सुन्नुपर्ने, हेर्नुपर्ने र कर्णालीका शासकलाई झस्काउने गीत ‘सिंहदरबार’ हो । जसको गीत जति मार्मिक र मर्मस्पर्शी छ । त्यो भन्दा बढी गीतको भिडियोले कर्णालीको संघीयता कथा बोल्छ ।
गाउँको सिहंदरबार भनेपनि दुर्गम जिल्लाहरुमा भइरहेको पहुँचको राजनीतिले कतिसम्म अवस्था विकराल बनेको छ भन्ने कथा उनको गीत र भिडियोले बोल्छ । झन् कर्णालीका दुर्गम जिल्लाको पीडा त सुरजले भिडियोमा दुरुस्तै देखाएका छन् ।
सुरजको शब्दमा ‘सिंहदरबार’ गीत नौ महिना लगाएर लेखिएको हो । त्यसलाई शब्दमा लेख्न जति समय लाग्यो, त्यति त्यसलाई भिडियोमा उतार्न शक्तिशाली कथा रचिएको थियो । गीतको भिडियो भने १० दिनमा खिचिएको हो ।
हुम्ला जाने विमानको टिकट नपाएपछि दार्चुलाको दुबु गाउँमा पुगेर सुटिङ गरिएको सिंहदरबार गीत कर्णालीको एक वर्तमान इतिहास हो । संघीयतापछि कर्णालीका स्थानीय तह र त्यसका जनप्रतिनिधि कसरी निर्दयी नेतामुखी छन् भन्ने पूरा कथा गीत र भिडियोले बोल्छ ।
सुरज आफैँले लेखेको, संगीत भरेको र स्वर दिएको गितको भिडियो लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । गीतको भिडियोमा अस्मिता जुरेलीको अभिनय पनि बेजोड छ । यो गीत काठमाडौँमा धेरै सुनिएको छैन । तर कर्णालीका हरेक घरमा हेरिएको, सुनिएको र दुरुस्त प्रतिबिम्बित भएको गीत हो ।
'रेलको बाटो २' सिरिजका रुपमा ‘सिंहदरबार’ बोलको गीत र भिडियोले देखाउँछ, सुरज पण्डित कर्णालीका ‘प्रकाश सपूत’ हुन् । जुम्लामा जन्मेर काठमाडौँमा एक समय मजदुरीसमेत गरेका सुरज पण्डितले गायक बन्न धेरै संघर्ष गरेका छन् ।
चर्चित म्याराथन धावक हरि रोकायाको जिल्लामा जन्मिएका सुरज पनि म्याराथन धावक हुन् । उनी २०६४ सालदेखि २०६८ सालसम्म म्याराथन धावक बनेर दौडिदैँ स्वर्णपदक जितेका छन् । धनगढीमा भएको राष्ट्रिय प्रतियोगितामा सुरज १० हजार किलोमीटर दौडमा स्वर्ण जित्न सफल भएका हुन् । यस्तै पाँच हजार मीटर दौडमा उनले रजतपदक पनि जितेका छन् ।
तर निकै कमजोर आर्थिक अवस्थाबाट माथि उठेका उनी त्यसपछि शरीरले साथ नदिँदा दौड छाडेर मजदुरी गर्न बाध्य भए । मजदुरीबाट जम्मा गरेको पैँसाले उनले पहिलो गीत गाएका हुन् ।
गायक बन्न गीत गाएपनि नचल्दा उनी जति दुःखी हुन्थे, त्यति नै नयाँ र केही फरक गर्नुपर्ने सिर्जनशील क्षमता पनि सिर्जित हुन्थ्यो । चुनौतिबीच पनि आज उनी जति सफल छन्, त्यति नै खुशी पनि ।
आर्थिक अवस्था कमजोर भएका कारण सांगीतिक क्षेत्रमा निरन्तरता दिन गाह्रो भएपछि उनले २०७५ सालदेखि सरकारी सेवा थालेका हुन् । जसलाई उनी बाध्यता भन्छन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेका वन कार्यालय, काठमाडौँका सरकारी जागिरे सुरज पण्डित कर्णालीका जनताका दुःख आफ्नो गीत र भिडियोमा देखाएर शासक झस्काउने गायक पनि हुन् ।
कर्णाली गाउँका सिंहदरबारको कथा काठमाडौँ लगायत देशविदेशमा सुनाउने र देखाउने गायक तथा कलाकार सुरज पण्डितलाई हामीले कर्णालीखबरको पहिलो वार्षिकोत्सव विशेष ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिको ६६ औँ स्थानमा समेटेका छौँ ।
[सम्पादकीय नोट : कर्णाली १०० अर्थात ‘कर्नाली हन्ड्रेड’ कर्णालीखबर डटकमको पहिलो वार्षिकोत्सवको अवसरमा विभिन्न विधा तथा क्षेत्रबाट कर्णालीमा चिनिने र कर्णाली चिनाउने कर्णालीका एक सय जना व्यक्तित्वको सूचि हो । ‘कर्णालीका १०० व्यक्तित्व’को सूचिमा हामीले राजनीतिक, आर्थिक, सामाजिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा क्रियाशिल र उत्कृष्ट व्यक्तित्वको छोटो परिचयसहितको विवरण समेट्ने प्रयास गरेका छौँ । यो सूचि कुनै पद, शक्ति, प्रभाव वा वरियताको होइन । ‘कर्णालीका १०० व्यक्तित्व’ सूचिबाट विभिन्न पेशामा उत्कृष्ट काम गरेका १० जनाको नाम सार्वजनिक गर्नेछौँ । त्यसमध्येबाट उत्कृष्ट १ जनालाई ‘कर्णाली हिरो’ घोषणा गर्दै नगद राशिसहित सम्मान गर्नेछौँ ।]