नाम : पाण्डव बिष्ट
पेशा ः गायक
कर्णाली व्यक्तित्व नं. : ८
देउडा कर्णाली र सुदूरपश्चिम क्षेत्रको रैथाने संस्कृति हो । अहिले आधुनिक गीत संगीतको रजाई भएपनि एक समय थियो, कर्णाली र सुदूरपश्चिमका जुनसूकै मेला पर्व र रमाइला जात्राहरुमा देउडा घन्किन्थ्यो । गाउँघरमा जात्रा र मेला मात्रै होइन, वन जंगलमा घाँस दाउरा काट्न जाने दिदी बहिनीले पनि देउडा नै गाउँथे । देउडा गीतमै आफ्ना पीडा पोख्थे । आफ्ना इच्छा, चाहना र भोगाई व्यक्त गर्थे ।
त्यतिबेला सुदूरपश्चिममा दर्जनौ नाम चलेका देउडा गायक थिए । भुवन दाहाल, राजाराम भाट, हरिना साउँद, डिक्रादेवी लगायत । जसका गीतले त्यतिबेला कर्णाली र सुदूरपश्चिममा एकछत्र राज गरेका थिए । तर कर्णालीमा पनि एउटै गायक थिए, जसको नाम हो, पाण्डव बिष्ट । कालिकोटका गायक बिष्टले त्यतिबेला हिँडेरै कर्णाली चिसापानी पुगेर त्यहाँबाट बस चढेर काठमाडौँ पुगेर गीत रेडर्क गराएका थिए ।
सानैमा बुवाआमा गुमाएका उनले त्यही पीडामा पहिलो गीत निकालेका थिए, ‘बचपनको मूले...।’ यो गीत रेकर्ड गराएपछि उनी कर्णालीमा पहिलो देउडा गीतका अफिसियल गायक बनेका थिए । धेरै संघर्ष गरेर यो गीत रेकर्ड गराएपछि उनी पुरै कर्णाली र काठमाडौँका चर्चित गायक बने । तर उनले केवल कर्णालीकै देउडा गीतमा बढी स्वर भरे । उनका ‘मरिगए माटी, बचपनको मुले, किट्टी पुग्यो बस...’ लगायतका दर्जनौ गीत चर्चित बने ।
बजारमा गीत निकालेपछि उनको चर्चा भयो । प्रचार भयो । अनि त्यही अनुसार उनले नाम र दाम पनि कमाउन थाले ।
तर उनले त्यसलाई सम्हाल्न सकेनन् । झण्डै एक दशक उनले आफ्नै कला, गला र क्षमतामा विश्वास गरेर कालिकोटबाट काठमाडौँसम्मको यात्रा गरे । जसको इतिहास लेखियो । पाण्डव बिष्ट भनेपछि कालिकोट र कर्णालीको ठूलै शान राखे ।

कर्णालीमा देउडा गीतमा एक्लो गायकको रुपमा उनले चर्चा कमाए । त्यतिबेला कर्णाली राजमार्गमा हुने महिनापिच्छेका दुर्घटना होस् वा अरु कुनै भवितव्यका घटना पाण्डव बिष्टको कला र गला चल्थ्यो । र, त्यही घटनाले उनलाई गायकका रुपमा सम्झिने र सम्मान गर्ने बढ्थे । उनले कालिकोटको किट्टी बस दुर्घटनाको गीत बनाएर गाउँदा धेरै चर्चा भएको थियो ।
तर समय उही रहेन । उनले कर्णालीको देउडा संस्कृतिलाई इतिहासका रुपमा सुरक्षित राख्न र आफ्नो समयलाई उत्कृष्ट बनाउन हरसम्भव बनाउने प्रयास पनि गरे । तर उनले आफ्नो चर्चा र चर्चित व्यक्तित्वलाई सम्हालन नसक्दा दुर्घटना झेले । दुर्घटनाले गर्दा उनले शारीरिक कष्ट भोग्नुपर्यो । एउटा खुट्टाको शारीरिक सन्तुलन बिग्रियो । हिड्दा पीडा खेप्नुपर्यो । जसकारण उनी बोलाएका ठाउँमा देउडा गाउन जान सकेनन् ।
कमाई घट्यो । चर्चा हराउन थाल्यो । त्यसपछि उनले गायकबाट एक सामान्य नागरिकका रुपमा जीवन निर्वाह गरिरहनु परेको छ । तर पनि कर्णालीका एक समयको चर्चित देउडा गीतका एक्ला गायकका नाताले आफ्नो इतिहास भने सुरक्षित राखेका छन् ।