नाम : ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)
पार्टी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
ठेगाना : सिँजा गाउँपालिका, जुम्ला
जन्ममिति : २०४८ माघ २४
बुवाको नाम : हरिबहादुर शाही
शैक्षिक योग्यता : स्नात्तकोत्तर/त्रिभुवन विश्वविद्यालय
पद : संघीय सांसद, प्रतिनिधिसभा सदस्य/जुम्ला
सुर्खेत : उल्लेखित निर्वाचन आयोगको विवरण हेर्दा ज्ञानेन्द्र शाही जम्मा ३१ वर्षका भए । ३१ वर्षमा उनी जति युवा छन्, त्यो भन्दा बढी ऊर्जाशील र आक्रामक छन् । तिनै ऊर्जाशील तथा आक्रामक बोली स्वभाव भएका ज्ञानेन्द्र शाहीले पाँच सय मतदाता रहेको जुम्लाबाट २२ हजार बढी मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले सत्ता गठबन्धनका उम्मेद्वारलाई झण्डै ११ हजार मतान्तरले पछि पार्दै युवा उमेरमै कर्णालीमा राजनीतिक सिण्डिकेट तोड्न सफल भएका छन् । कर्णालीमा पार्टी केन्द्रित राजनीति भएकाले जसलाई संगठन भएको पार्टीले टिकट दिन्छ, उसैले जित्छ भन्ने प्रवृत्ति छ । यसपटक कर्णालीका अरु जिल्लामा पनि त्यस्तै भयो । कांग्रेस र माओवादी मिलेका धेरै निर्वाचन क्षेत्रमा कार्यकर्ताले आफ्नै उम्मेद्वारलाई जिताए पनि ।
तर नेपाल राज्यको उत्पति भएको जुम्लामा भने मतदाताले बुढालाई नभई युवा र आक्रामक रहेका ज्ञानेन्द्र शाहीलाई दोब्बर मतान्तरले जिताएर केन्द्र काठमाडौमा पठाएका छन् । राप्रपामा प्रवेश गर्नुअघि ‘नेपालका लागि नेपाली अभियान’मा सक्रिय रहेका ज्ञानेन्द्र युट्युबमा चर्को स्वर गरेर अन्तर्वार्ता दिने व्यक्तिका रुपमा परिचित थिए ।
त्यसपछि उनले त्यही चर्को स्वरमा माइतीघरमा आन्दोलन हुँदा सरकारविरुद्ध तथा ठूला नेता विरोधी अभिव्यक्ति दिएर झन् चर्चामा आए । कोरोना महामारीमा केही समाजसेवाको काम गरेर थप चर्चामा आएका शाहीले काठमाडौँमा पत्रकार सम्मेलन गरेर जुम्लाबाट चुनाव लड्ने घोषणा गर्दै धेरैले केवल उनको त्यो रहर भएको टिप्पणी गरेका थिए ।
राप्रपाका केवल पाँच सय मतदाता मात्रै रहेको जिल्लाबाट प्रतिनिधिसभा सदस्य चुनाव लड्नु एक अदम्य साहस थियो । जुन साहसलाई जुम्ली जनताले अनुमोदन गरेर काठमाडौँ पठाएका छन् । माओवादीबाट नरेश भण्डारीको जुम्ला क्षेत्र चर्चित मानिन्थ्यो । तर यसपटक उनले टिकट पाएनन् । उनको सट्टामा माओवादीकै गोमा कुँवरलाई टिकट दिइयो । त्यही कमजोरीमा टेकेर ज्ञानेन्द्र शाहीले चुनाव जिते ।
जुम्लाको सिँजा गाउँपालिका ३ नम्बर वडामा जन्मेका शाहीका बुवाको नाम हरिबहादुर हो । राप्रपाका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रको पकड जुम्लामा चुनावअघि खासै थिएन । तर सामाजिक सञ्जाल र मिडियाका कारण उनको चर्चा र प्रभाव बढ्दै गएको हो ।
भूकम्पपछि विस्तारै सामाजिक सञ्जाल र सामाजिक काममा सक्रिय रहेका ज्ञानेन्द्रबहादुर शाहीलाई सुरुवाती रुपमा डा.सुरेन्द्र भण्डारी नेतृत्वको ‘नेपालका लागि नेपाली’ अभियानले चर्चामा ल्याएको हो । उनलाई अभियान्ताका रुपमा सो टिमले अघि सारेको थियो । त्यसबाट उनले चर्चा, केही पैँसा र आफ्नो पृष्ठभूमि बनाए । काठमाडौमा नयाँ युवाको नामबाट परिचित रहेका उनी कर्णालीमा खासै चर्चामा थिएनन् ।
तर एकपटक सुर्खेतमा उनीमाथि आक्रमण भएपछि उनको चर्चा झन् बढ्यो । त्यसअघि उनलाई चितवनमा आक्रमण हुँदा पनि उनकै चर्चा बढेको थियो । तर त्यसबीचमा धेरै विवाद र व्यक्तिगत अभिव्यक्तिका कारण झन् विवाद भएपछि नेपालका लागि नेपाली अभियानले उनलाई २०७६ मंसिर ११ गते आफ्नो समूहबाट निकालेको थियो । त्यसपछि उनले व्यक्तिगत रुपमै केही अभियानको घोषणा गरे । तर त्यो खासै चर्चामा रहेन । यद्यपी उनका अन्तर्वार्ता र अभिव्यक्ति भने सामाजिक सञ्जालमा भाइरल भए ।
एमसीसीविरुद्ध चर्को गरि सडक आन्दोलनमा उत्रिएका उनले भर्चुअल दुनियाँमा राम्रो क्रेज पाएँ । त्यही क्रेजका कारण ज्ञानेन्द्र शाहीलाई आफ्नो पार्टीमा भित्र्याउन राप्रपाका नयाँ अध्यक्ष राजेन्द्र लिङ्देन लागेका थिए । लिङ्देनकै प्रस्तावमा २०७८ फागुन ६ गते ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरे ।
राप्रपामा केन्द्रीय कार्य सम्पादन समिति सदस्य रहेका उनी प्रवक्ता पनि हुन् । राप्रपा प्रवेश गरेपछि राजनीतिक मञ्च पाएका उनले आफ्नो भाषणकलाका कारण थप चर्चा र ठूलो मास पाए । त्यसले उनलाई चुनावमा उठ्ने हौसला दियो ।
अन्ततः त्यही हौसलाका कारण जुम्लाबाट प्रतिनिधिसभा सदस्य लडेका उनले सत्ता गठबन्धन र प्रतिपक्षी गठबन्धनलाई हराउँदै विजयी हुन सफल भए । ज्ञानेन्द्र शाहीको जित कर्णालीमा राप्रपाको पहिलो जित हो । पञ्चायत हटेपछि राप्रपाले कर्णालीमा आम चुनाव जित्न सकेको थिएन । तर ज्ञानेन्द्र शाहीले राप्रपाबाटै भएपनि कर्णालीमा कांग्रेस, एमाले र माओवादीको राजनीतिक सिण्डिकेट तोडेका छन् ।
कर्णालीमा एक युवा उदाएर काठमाडौको संसदमा गर्जिने अवसर पाउँदा अब उनलाई कर्णालीका एजेन्डा उठाउनुपर्ने जिम्मेवारी थपिएको छ । सामाजिक सञ्जालमा चर्को स्वरमा गर्जिने उनी अब परिपक्व र एक जिम्मेवार राजनीतिज्ञका रुपमा प्रस्तुत हुनुपर्नेछ ।
यसले उनलाई त नयाँ जिम्मेवारी र भविष्य दिएको छ नै अभाव, गरिबी र पछौटेपनले पछाडि परेको कर्णालीलाई पनि एक ऊर्जाशील युवा राजनीतिज्ञ दिएको छ । जसको भरपुर सदूपयोग ज्ञानेन्द्र शाहीले गर्नेछन् भन्ने कर्णाली र जुम्लाका मतदाताको विश्वास छ ।
[कर्णालीखबरले कर्णाली प्रदेशसभा र प्रतिनिधिसभामा कर्णालीबाट निर्वाचित सांसदबारे छोटो विवरणसहितको समाचार सामग्री प्रकाशित गर्न सुरु गरेको छ । यी सामग्रीहरुमा कर्णालीका सांसदको संघर्ष, सफलता, चुनौति र आगामी बाटो तथा चुनौतिपूर्ण समयमा उनीहरुको जिम्मेवारीबारे केही विश्लेषण समेटिनेछ : सम्पादक]