काठमाडौँ : नेपाली प्रगतिवादी कला, साहित्य, गीत–सङ्गीत तथा संस्कृतिका क्षेत्रमा योगदान दिएका पाँच स्रष्टालाई सम्मान गरिएको छ । जनसांस्कृतिक महासङ्घ नेपालले प्रदान गर्दै आएको ‘जनसांस्कृतिक राष्ट्रिय सम्मान २०७८’ बाट अग्रज ललितकलाकर्मी जुलुमलाल चित्रकार, साहित्यकार पोषराज पौडेल, चलचित्रकर्मी विमल पौडेल, गायिका प्रगति हिङ्माङ र नाट्यकर्मी जेबी रुवाली रु दश हजार पुरस्कार राशि तथा ताम्रपत्रसहित सम्मानित भएका हुन् । विसं २०५५ चैत ५ गते काभ्रेपलाञ्चोकको अनेकोटमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न जम्मा भएकामध्ये सात कलाकारको तत्कालीन सरकारबाट चलाइएको गोलीबाट हत्या भएको थियो ।
चौबीसौँ सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले सम्मान गर्दै समाजमा रहेको विभेद हटाई प्रगतिशील रुपान्तरणका लागि संस्कृतिकर्मीले निरन्तर खबरदारी गरिरहनुपर्नेमा जोड दिए । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासङ्घ नेपालका इन्चार्ज डा. गोपाल ठाकुरले सङ्घर्ष र चुनावका बेला मात्र संस्कृतिकर्मी चाहिने प्रवृत्तिको अन्त्य हुनुपर्ने विचार व्यक्त गरे ।
प्रगतिवादी साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले ‘सांस्कृतिक प्रतिरोध दिवस र प्रगतिशील संस्कृति रुपान्तरणको प्रश्न’ विषयमा अवधारणापत्र प्रस्तुत गर्दै खबर प्रवत्तिका विरुद्ध प्रतिरोधी चेतनासहित जनता जगाउने काममा संस्कृतिकर्मीले सशक्त ढङ्गले आवाज उठाउँदै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे । अवधारणापत्रमाथि टिप्पणी गर्दै उपप्राध्यापक बालाकृष्ण अधिकारीले भविष्यको सुन्दर मार्गचित्र कोर्न इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए ।
महासङ्घका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले प्रगतिवादी संस्कृति निर्माणमा स्रष्टाले सिर्जनात्मक अभियानलाई व्यवस्थित गर्नुपर्ने भनाइ राखे भने उपाध्यक्ष कर्ण विद्रोहीले संस्कृतिकर्मीले आफ्ना सिर्जनामार्फत रुपान्तरणका पक्षमा वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । अर्का उपाध्यक्ष भीम कुमाखीले प्रतिरोध दिवसले स्रष्टालाई कला, साहित्य, गीत–सङ्गीत तथा सिर्जनाका विभिन्न माध्यमबाट सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउन अभिप्रेरित गरेको बताए । महासङ्घका केन्द्रीय सचिव केशरी घर्ती मगरले संस्कृतिकर्मीले दिएको बलिदानले देशमा परिवर्तन आउन सकेको बताए । सो अवसरमा कवि प्रथा, बाबा बस्नेत, कृष्णकिसुलगायतले कविता वाचन गरेका थिए ।