काठमाडौं: रङको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ ।
बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ । होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । केही मुसलमान समुदायका युवाले होली मनाउने समूहसँग मिलेर पर्व मनाउने गरेको युवा नेता वसिम आलमले बताए ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास गरिन्छ । कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा (होली) तराईका जिल्लामा आज धुमधामसँग मनाइँदै छ ।
रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ । फागुपूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ ।
यस पर्वका लागि बजारमा फलफूल, मासु, रङ र अबिरको बिक्री बढेको पाइएको छ । खसीको मासुको मूल्य किलो रु २०० बढेर प्रतिकिलो रु एक हजार २०० पुगको छ । ब्रोइलर कुखुराको मासु रु ३८० बाट प्रतिकिलो रु ४५० पुगेको स्थानीय मासु पसले मोहम्मद करियाले जानकारी दिए।
होली पर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गरिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिनुभयो । होली पर्वका कारण बजारमा चहलपहल बढेको पाइएको छ ।