काठमाडौं: राजनीतिक आवरणमा आपराधिक गतिविधि गरिरहेको आरोपमा प्रहरीको सर्वाधिक खोजीको सूचीका व्यक्ति जिल्लाको मुख्य प्रशासनिक केन्द्रमा रहेको मालपोत कार्यालयमा आएर आफ्नो नाममा रहेको जग्गा सुटुक बेचेको खुलेको छ ।
प्रहरीको सर्वाधिक खोजी गरिरहेको जनतान्त्रिक तराई मुक्ति मोर्चा ‘ज्वाला सिंह’का अध्यक्षसमेत रहेका सिरहा नगरपालिका–७ का नागेन्द्रकुमार पासवान ‘ज्वाला सिंह’ले जिल्ला सदरमुकाम सिरहामा रहेको भूमिसुधार तथा मालपोत कार्यालयबाट आफ्नो नाममा रहेको पाँच कित्तामध्ये दुई कित्ता जग्गा रजिष्ट्रेशन गरेर बेचेको खुलेको हो ।
पासवानले १४ जेठ २०७६ मा सिरहाको साविक रामनगर गाविस ६ (क) को कित्ता नं १४७६ (हाल मिर्चैया नगरपालिका ६) को तीनकठ्ठा आठ धुर जग्गा २० लाख रुपैयाँ र ८ भदौ २०७५ मा कित्ता नं १२५२ को चार कठ्ठा तीन धुर जग्गा २० लाख गरी ४० लाख रुपैयाँ थैली राखी रामनगर ६ का राजेश्वरप्रसाद साहलाई बिक्री गरेको मालपोतको श्रेस्तामा उल्लेख छ।
भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुख उपसचिव विष्णुप्रसाद सिटौलाले आफू यहाँ कार्यालय प्रमुख भएर आउनुभन्दा पहिला नै रजिष्ट्रेशन पास भएकोले त्यसबारे खासै जानकारी नरहेको बताए।
पासवानको जग्गा बिक्रीको विषयमा मालपोतका सूचना अधिकारी तथा नायव सुब्बा सुधीरकुमार यादवले जग्गा रोका रहे नरहेकोबारेमा थाहा नभएको बताए। ‘पासवान प्रहरीले खोजी गरिरहेका व्यक्ति हुन् भन्ने पनि आफूहरूलाई थाहा थिएन। यहाँ कति सेवाग्राही आउँछन्, जान्छन्। सबैको व्यक्तिगत विवरण हामीसँग हुँदैन। प्रक्रिया पुर्याएर आएकाले उनको जमिन पास भएको हो’, यादवले भने, ‘जग्गाधनी दर्ता प्रमाणपुर्जा, सक्कल नागरिकता, सोही आवको तिरो तिरेको रसिद, घरबाटो प्रमाणित सिफारिस, बेच्ने र किन्ने दुवैले कारोबार गरेको स्वीकारेर भौतिक उपस्थितिमा सहीछाप गरे जग्गा रजिष्ट्रेशन हुन्छ। सयौं जनाको भिडमा काम गर्नुपर्ने भएकाले पासवान को हुन् चिन्ने कुरा भएन र रजिष्ट्रेशन भएको हो।’