फाइल फोटो
सिमकोट : कर्मचारी अझ विशेषगरि कार्यालय प्रमुखलाई यस्तो निर्देशन दिइरहनु आवश्यकता होइन । तर, कहिले काहीँ दिनुपर्ने बाध्यता पनि हुन्छ । यस्तै भयो हुम्ला प्रमुख जिल्ला अधिकारी सीता परियारलाई ।
उनले जिल्लामा सरुवा भएर आए लगत्तै कार्यालय प्रमुखलाई निर्देशन दिनु परेको थियो । सो दिएको निर्देशन अहिले आएर थोरै भएपनि कार्यान्वयन हुने क्रम बढेको छ । कार्यालय प्रमुखले आफुखुसी जिल्ला छोड्ने, सुचना तथा जानकारी दिने कार्यमा समस्या आएको आफैले अनुभव बटुलेपछि कार्यालय प्रमुखसँग बैठक बसेर निर्देशन दिएकी थिइन् ।
निर्णय गराएर दिएको निर्देशन कार्यान्वयमा आएको बताउँदै प्रजिअ परियारले यसले जनतामा सकरात्मक सन्देश जाने बताइन् । यसअघि जथाभावी रुपमा कार्यालय प्रमुख जिल्ला छोड्ने गरेकोमा अब छोड्नै पर्ने भएर समन्वय गरेर जान थालेको उनले बताइन् ।
उनले निर्वाचनमा पनि नजिक आइसकेका कारण सानातिना कार्यक्रममा कार्यालय प्रमुखलाई जिल्ला छोड्न नदिएको र कार्यक्रमको प्रकृति हेरि छाड्ने गरिएको उल्लेख गरिन । उनले अर्को कुरा जिल्लामा स्थापना भएका सबै सरकारी कार्यालयका प्रमुख र सुचना अधिकारीले अनिवार्य सरकारी नम्बर प्रयोग गर्न सुरु गरेको बताइन् ।
यसअघि कार्यालय प्रमुखले भएको नम्बर पनि प्रयोग नगर्ने र स्वीच अफ गरेको गरेको पाइएको थियो । त्यस्तै धेरै कार्यालयहरुले आफ्नो वार्षिक कार्यक्रम अनुसारका प्रगति विवरण पनि प्रशासन कार्यालयमा बुझाउन सुरु गरेका छन् ।
यो कार्यले सर्वसाधारणका लागि सूचनाको हकको प्रत्याभुति गर्न सहज भएको छ । त्यसैगरि फिल्डका कर्मचारीहरु पनि खटिन थालेको र कर्मचारी विदा लिएर पनि कार्यालयको काममा संलग्न हुन थालेको पाइएको हो ।
सेवाग्राहीका काम छिटो र छरितो रुपमा सञ्चालन गर्न कार्यालयहरुलाई उनले निर्देशन दिएकी थिइन् । सो कार्यका लागि उनले नियमित रुपमा कार्यालयको अनुगमन गर्ने गर्दे आएकी छन् ।
उनले निर्वाचन नजिकै आइसकेका कारण सुरक्षा व्यवस्था कडा बनाउनुपर्ने, अब सबै कर्मचारीको विवरण तयार गर्नु आफ्नो दायित्व रहेको बताइन् । विकास निर्माणका कामको अनुगमन गर्नु उनले नियमित कार्य भएको बताएकी छन् । प्रजिअ परियार जिल्ला आएको छोटै समयमा थोरै परिर्वतन भएको अनुभूति हुन थालेको सेवाग्राहीले बताउन थालेका छन् । उनी हुम्लामा सीडीओ भएर गएको एक महिना पनि पुगेको छैन ।