सिमकोट : हुम्ला निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने कार्यमा चार वटा गाउँपालिकामा मतदाता मृत्यु नै नभएको पाइएको छ । तीन वटा गाउँपालिकामा मतदाता मृत्युको दाबी आएर हटाइए पनि चार वटामा भने त्यस्तो दाबी नआएको पाइएको हो।
०७४ सालको निर्वाचनपछि कुनै पनि मतदाताको मृत्यु नभएको पाइएका गाउँपालिकामा नाम्खा, सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिका छन्।
जिल्ला निर्वाचन अधिकृत श्यामबहादुर रानाका अनुसार दाबी विरोधको समयमा वडा तथा गाउँपालिकाबाट मृत्यु दाबीको कुनै उजुरी नआएको हो।
उनले उजुरीबिनै त्यस्ता केस भए पनि हटाउन नमिल्ने र कार्यालयलाई सोबारे जानकारी पनि नहुने भएका कारण ती गाउँपालिकामा अध्यावधिक गर्ने कार्य नभएको हो।
स्रोतका अनुसार उत्तरी नाम्खा गाउँपालिकामा मात्र एक सयभन्दा बढी मतदाताको मृत्यु भएको छ। तर, अध्यावधिकको जिम्मा लगाइएको वडाबाटै मृतक मतदाताबारे कुनै उजुरी वा सिफारिस नभएका कारण हालसम्म जे छ त्यसैलाई मतदाता संख्या मानिएको छ। कम मतदाता संख्या भएको नाम्खा गाउँपालिकाको अवस्था यो छ भने बढी मतदाता संख्या भएको सर्केगार्ड, अदानचुली र ताँजाकोटमा त्योभन्दा बढी मृतक संख्या रहेको हुन सक्ने स्रोतले बताएको छ।
त्यसका लागि वडा मात्र नभएर राजनीतिक दलबाट समेत कुनै दाबी विरोध नआएको कार्यालयले जनाएको छ। यता, मृतक मतदाताको संख्या हटाएका गाउँपालिकामा सिमकोटबाट ४६ जना, खार्पुनाथबाट ३३ र चंखेली गाउँपालिकाबाट १०८ जना छन्।
त्यसैगरी, तीन वटा गाउँपालिका दोहोरो नामावली भएका मतदातालाई हटाइएको छ। जसमा चंखेलीबाट ४६ जना, नाम्खाबाट १ जना र सिमकोटबाट २ जना छन् भने चार वटा गाउँपालिका खार्पुनाथ, सर्केगार्ड, अदानचुली र ताँजाकोटमा दोहोरो नामावली नै नभएको पाइएको हो। यसबाट जिल्लाको कुल मतदाता संख्यामा २२६ मत कम भएको छ। जिल्लाको अन्तिम मतदाता संख्या भने चैत १३ गते सार्वजनिक हुनेछ।
त्यसैगरी, खार्पुनाथबाहेक अन्य ६ वटा गाउँपालिकामा नामावली सच्याइएको छ। सच्याइएका नामावलीमा नाम्खामा ४ जना, सिमकोटमा ११ जना, सर्केगार्डमा २ जना, चंखेलीमा ४ जना, अदानचुलीमा १ जना र ताँजाकोटमा २ जना छन्। यता, सबै गाउँपालिकामा गरी १४६ जनाले नयाँ परिचयपत्रका लागि निवेदन कार्यालयमा पेस गरेका छन्।