सिमकोट : हुम्लाको सिमकोट गाउँपालिकाले आफ्नो ‘शिक्षा ऐन’ पारित गर्दैै हिउँदे गाउँसभा सम्पन्न गरेको छ । उक्त सभा २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरुको अन्तिम गाउँसभाका रुपमा सम्पन्न भएको हो ।
सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकालाई नगरपालिका घोषणा गर्ने मागलाई निर्णय गर्दै गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाका अनुसार हालसम्म एउटा पनि नगरपालिका नभएको हुम्ला जिल्लामा सिमकोट गाउँपालिकालाई नगरपालिका घोषणाका लागि माग गर्ने निर्णय पारिद गर्दै सभा सम्पन्न भएको हो ।
उनले सिमकोट गाउँपालिका नगरपालिकाका लागि आवश्यक पर्ने मापदण्ड धेरै पुरा भएको र केही अन्तिम चरणमा पुगेको सभाले सो निर्णय गरेर सम्वन्धित निकायमा माग गर्ने निर्णय सभाले गरेको जानकारी दिए ।
यसअघि गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले सबै आवश्यक मापदण्ड पुरा गरेर आफ्नो कार्यकालको अन्तिमसम्म नगरपालिका घोषणाका लागि आवश्यक पहल गर्ने बताउदै आएका थिए ।
नियमत पुस मसान्तसम्म सम्पन्न हुनु पर्ने हिउदे गाउँसभा दुई महिना ढिलो गरि सञ्चालन भएपनि शिक्षा ऐन समेत पारिद गरेको छ । त्यसैगरि बहुप्राबिधिक शिक्षालय स्थापनाका लागि पनि माथिल्लो निकायसंग माग गर्ने निर्णय सभाले गरेको छ । सभामा चालु आर्थिक वर्षमा भएका हालसम्मको प्रगति विवरण पनि समिक्षा गरिएको थियो ।
गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाको सभापतित्वमा सम्पन्न भएको सभामा उपाध्यक्ष बली रावत र ३८ जना सदस्यहरुको उपस्थिती रहेकोमा पाँच जना सदस्यको अनुपस्थिती रहेको गाउँपालिकाले जनाएको छ ।
हिउँदै गाउँसभा गर्ने सिमकोट दोस्रो गाउँपालिका भएको छ । यसअघि नाम्खा गाउँपालिकाले गतमङ्सिर महिनामा सम्पन्न गएको थियो । जिल्लाका अन्य खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाले हालसम्म सभा गर्न सकेका छैनन् ।