काठमाडौँ : नेपाल इन्जिनियर्स एशोसिएशनको ३३औँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि बृहत् राष्ट्रिय प्रगतिशील गठबन्धनले इन्जिनियरलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने बताएको छ ।
गठबन्धनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गठबन्धनतर्फका अध्यक्षका उम्मेदवार डा. सुरज लामिछानेले इन्जिनियर समाजमा नै रहेकाले इन्जिनियरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्ने बताए । उनले इन्जिनियर र समाजको समन्वय मिलाइने बताए ।
उनले अहिले इन्जिनियर पढे पनि न्यूनतम तलबमा काम गर्नुपरेको भन्दै इन्जिनियरलाई कम्तीमा अधिकृत तहको तलब उपलब्ध गराउनुपर्ने बताए । “अहिले इन्जिनियरलाई इन्टर्नशीपका नाममा न्यूनतम तलबमा काम लगाउने पाइएको छ”, उनले भने, “अब इन्जिनियरको तलब न्यूनतम अधिकृत वा सोसरहको हुनुपर्दछ ।”
उनले बर्सेनि छ हजारभन्दा बढी इन्जिनियर उत्पादन हुने गरेको भए पनि सोअनुसार जनशक्तिको खपत नभएको समेत बताए । उनका अनुसार अहिले एक हजार मात्र इन्जिनियरले वर्षेनि रोजगारी सिर्जना हुने गरेको छ । उनले हरेक एक जना सिनियर इन्जिनियरले दुई जना इन्जिनियरलाई सहयोगको रुपमा राख्दा एक हजारलाई रोजगार दिन सकिने तर्क गरे ।
अहिले देशभरिमा ५२ विभिन्न विधामा ६७ इन्जिनियर रहेका छन् । तीमध्ये २२ हजार नेपाल इन्जिनियर्स एशोसिएशनमा रहेका दर्ता भएका छन् । अध्यक्षका प्रत्यासी डा. लामिछानेको समूह विभिन्न ३३ बुँदे एजेण्डासहित निर्वाचनमा होमिएका छन । उनले आफ्नो समूहमा दक्ष, योग्य, इमान्दार उम्मेदवार रहेको जित्ने बताए ।
उनले इन्जिनियर पढेर आएकालाई नयाँ प्रविधिसँग जोडनका लागि इन्जिनियर स्टाफ कलेज स्थापना गर्ने बताए । उनले इन्जिनियरिङ शिक्षाको गुणस्तरको स्तरोन्नतिका लागि नेपाल इन्जिनियरङ परिषद् एवं विश्वविद्यालयसँग अधिकतम सहकार्य गरिने बताए ।
गठबन्धनबाट महासचिवका उम्मेदवार डा. भेषराज थापाले इन्जिनियरको हकहित र आवाजलाई राज्यसँग जोड्ने बताए । उनले आफूहरुले इन्जिनियरलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने बताए । प्रगतिशील इन्जिनियर समूहका अध्यक्ष शम्भुबहादुर श्रेष्ठले गठबन्धनबाट उठेका उम्मेदवार नेतृत्व लिन सक्षम, प्रतिबद्ध र इमान्दार रहेको बताए ।
उनले आफूहरूले उठाएका एजेण्डाले समग्र इन्जिनियरको रहेकोले जित सुनिश्चित रहेको बताए । ३३ औँ कार्यकारिणी समितिको यही फागुन २७ गते हुने निर्वाचन एकै साथ हुँदैछ । निर्वाचनमा पाँच समूहले चुनावी मैदानमा रहेका छन् । केन्द्रमा १८ जना र प्रदेशमा १६ जना (कूल ११२) गरी कूल १३० पदाधिकारी तथा सदस्यका लागि निर्वाचन हुँदैछ । उपाध्यक्षमा देउकाजी गुरुङ, उपमहासचिवम शिवराम केसी, कोषाध्यक्षमा डा. आनन्दसिंह, सहकोषाध्यक्षमा अर्जुन पौडेल रहेका छन ।
यस्तै इन्जिनियरिङ परिषद्का सदस्यमा डा. भीमकुमार दाहाल, बाबुराम भण्डारी, वसन्त लिङथेप, डा. अजयकुमार झा र बन्दना सुवेदीले उम्मेदवारी दिएका छन । इन्जिनियरको हक, हितको संरक्षणको लागि एशोसिएशनलाई सशक्त संरक्षक संस्थाको रूपमा विकास गरिने, आगामी निर्वाचनमा विश्वभरि छरिएर रहेका इन्जिनियरको अनलाइनका माध्यमबाट निर्वाचनमा सहभागी गराइने, इन्जिनियर भवन निर्माण अभियान भन्ने नाराका साथ नेपाल इन्जिनियर्स एशोसिएशनका हरेक प्रदेश र शाखामा आफ्नै भवन निर्माण गरिने एजेण्डा रहेका छन् ।