कञ्चनपुर : कार्यसम्पादन मूल्याङ्कनमा कञ्चनपुरका दुई नगरपालिका देशमै उत्कृष्ट भएका छन् । भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिका उत्कष्ट भएका छन् ।
भीमदत्त नगरपालिकाले ७६.३८ र शुक्लाफाँटा नगरपालिकाले ७२.६६ अङ्क प्राप्त गरेका छन् । कार्यसम्पादन मूल्याङ्कनका लागि तोकिएका सात सूचकका आधार पूरा गरेकाले देशमै सबै स्थानीय तहभन्दा दुई नगरपालिकाले बढी अनुदान रकम प्राप्त गरेका छन् । बेदकोटले ६९.४१, कृष्णपुर नगरपालिकाले ५४.३२, दोधारा चाँदनीले ४८.६९, लालझाडी गाउँपालिकाले ६८.७३, बेलौरी नगरपालिकाले ४४.९०, बेलडााडी गाउँपालिकाले ६७.८४ अङ्क प्राप्त गरेको छ ।
“कार्यसम्पादन मूल्याङ्कनका लागि निर्धारित सूचकअनुसार काय गर्दा सन्तोषजनक नतिजा पाएका छौँ”, शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र भट्टले भने, “गत आवमा नतिजामुखी परिणाम ल्याएका थियौँ ।” नगरपालिकाले कर्मचारीको लगनशीलता र मिहिनेतले सबैभन्दा बढी अङ्क पाउन सफल भएको उनले बताए ।
कार्यसम्पादनस्तर मापनका लागि स्थानीय तहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गर्नुपर्ने न्यूनतम प्रक्रियागत कार्यसम्पादन गरे नगरेको, कानुन तर्जुमा गरे नगरेको, उद्देश्य बमोजिम खर्च गरे नगरेकोलगायत विभिन्न सात सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मापन गरिन्छ ।
सुदूरपश्चिम प्रदेशको डडेल्धुराको अजयमेरु गाउँपालिका भने कार्यसम्पादन मूल्याङ्कनमा देशकै पहिलो स्थानमा आएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनअनुसार अजयमेरु सबैभन्दा अगाडि देखिएको हो । १०० अङ्क भारमा ७० भन्दा बढी अङ्क प्राप्त गर्दा अजयमेरु गाउँपालिका पहिलो नम्बरमा रहेको छ । गाउँपालिकाले ७८.६९ अङ्क प्राप्त गरेको छ । दोस्रोमा मुस्ताङको लो घेकर–दामोरकुण्ड गाउँपालिकाले ७७.११, तेस्रोमा कैलालीको कैलारी गाउँपालिकाले ७६.४९, चौथोमा भीमदत्त नगरपालिकाले ७६.३८ र पाँचौँमा गुल्मीको धुर्कोट गाउँपालिकाले ७६.५४ अङ्क प्राप्त गरेको छ ।