एजेन्सी: रुसले पूर्वी युक्रेनमा आक्रमण सुरु गरेसँगै अन्तर्राष्ट्रिय बजारमा विभिन्न खालका प्रभावहरू देखा पर्न थालेका छन्।
युरोपमा जारी तनावको प्रत्यक्ष प्रभाव नेपालको अर्थतन्त्रमा नपरे पनि अप्रत्यक्ष प्रभाव भने पर्न सक्ने जानकारहरू बताउँछन्। कतिपयले युक्रेन-रुस द्वन्द्वका कारण आगामी दिनमा अवस्थामा परिवर्तन आउन सक्ने हुँदा नेपालले अहिलेदेखि नै तयारी अघि बढाउनुपर्ने औँल्याएका छन्। नेपाली बजारमा हुने खपतमा ठूलो हिस्सा आयातको रहेका कारण पनि अर्थतन्त्रमा प्रभाव पर्न सक्ने विज्ञहरू बताउँछन्।
प्रत्यक्ष प्रभाव कति?
रुससहित पूर्वी युरोपमा नेपालको प्रत्यक्ष आर्थिक सम्बन्ध कम भएकाले जारी द्वन्द्वको त्यति ठूलो प्रत्यक्ष प्रभाव पर्ने आफूले नदेखेको अर्थशास्त्री पोषराज पाण्डे बताउँछन्।
भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा नेपालले रुसबाट दुई अर्ब ४० करोड रुपैयाँभन्दा केही बढी रकम बराबरको वस्तु आयात गरेको थियो। एक वर्षको अवधिमा लगभग १५ करोड रुपैयाँ बराबरको सामान नेपालले निर्यात गरेको थियो।
त्यस्तै आर्थिक वर्ष २०७७/७८मा युक्रेनबाट १७ अर्ब १७ करोड रुपैयाँजतिको सामग्री आयात भएको सरकारी तथ्याङ्कले देखाउँछ। तर निर्यात भने एकदम न्यून अर्थात् झन्डै २३ लाख रुपैयाँजतिको भएको देखिन्छ। नेपालमा रुसको प्रत्यक्ष लगानी ११ देखि १२ करोडको हाराहारीमा मात्रै रहेको बताउँदै पाण्डेले त्यसले "नेपालको अर्थतन्त्रको सन्दर्भमा ठूलो महत्त्व नराख्ने" बताए।
पूर्वअर्थसचिव रामेश्वर खनाल पनि नेपालको बढी व्यापारिक सम्बन्ध नभएकाले युक्रेन-रुस द्वन्द्वको नराम्रो प्रभाव नपर्ने धारणा राख्छन्। रुस पूर्ण रूपमा युद्धमा जान खोजेको अवस्थामा अन्तर्राष्ट्रिय आपूर्ति सञ्जाल अवरुद्ध भएर अन्य मुलुकबाट कच्चापदार्थ आयात गर्नुपर्ने अवस्था भने आउन सक्ने खनालले बताए।
अप्रत्यक्ष प्रभाव कस्ता
युक्रेन-रुस तनावको प्रत्यक्ष प्रभाव नेपाललाई धेरै नपरे पनि परोक्ष प्रभाव भने ठूलो हुने जानकारहरू बताउँछन्।विश्वबजारमा रुस ठूलो परिमाणमा तेल र ग्यास कारोबार गर्ने राष्ट्रमध्ये एक हो। एक दिनमा अन्तर्राष्ट्रिय बजारमा ५५ लाख ब्यारल तेल रुसले आपूर्ति गर्छ। त्यो भनेको विश्वआपूर्तिको १२ प्रतिशतभन्दा बढी हो," पाण्डेले भने।
"त्यसमा समस्या पर्नासाथ तेलको मूल्यमा प्रभाव पर्ने नै भयो। युक्रेनमा आक्रमण सुरु भएको केही समयमै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारल १०० डलरभन्दा धेरैले बढेको थियो।
हाल अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य हेर्दा नेपालका लागि अबका दिनमा लगभग १०० अर्बको अतिरिक्त भार पेट्रोलियम पदार्थ आयातमा थपिन जाने पाण्डे बताउँछन्। पेट्रोलियम पदार्थ महँगोमा खरिद गर्नुपरेको अवस्थामा त्यसले बजारमा महँगी बढाउने जानकारहरू बताउँछन्। तर अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्ने क्रम अल्पकालीन रहन सक्ने खनाल बताउँछन्।
रुसी आपूर्ति कम भएको अवस्थामा खाडी मुलुकहरूले पेट्रोलियम पदार्थको उत्पादन बढाइदिए त्यति धेरै मूल्य वृद्धि नहुने उनको भनाइ छ।
वैदेशिक सहायतामा कस्तो प्रभाव पर्ला?
हाल रुस र युक्रेनमा सीमित युद्ध विस्तार भएको अवस्थामा उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोसँग आबद्ध राष्ट्रहरूले आफ्नो स्रोत युद्धमा केन्द्रित गर्न सक्ने र त्यसको प्रभाव नेपालजस्ता देशको अर्थतन्त्रमा पनि पर्ने सक्ने बताइन्छ।
अविकसित राष्ट्रहरूलाई दिइने स्रोत अन्यत्र लगानी हुन जाँदा त्यस्तो हुनसक्ने पाण्डे ठान्छन्। यसले विकास सहायता आउने क्रम भविष्यमा कम हुँदै जाने सम्भावना रहन्छ," उनले भने। अर्को प्रभाव भनेको विश्वव्यापी आपूर्ति व्यवस्थामा समस्या देखिए उत्पन्न हुनसक्छ जसको प्रभाव नेपालजस्तो आयातमा निर्भर अर्थतन्त्रमा पर्न सक्छ
हाम्रो उपभोगको ४० प्रतिशत आयातबाट पूर्ति गर्छौँ। भनेपछि विश्वव्यापी रूपमा आपूर्तिमा समस्या आएका कारण मूल्य बढ्यो भने हामीहरूले पनि मुद्रास्फीति (महँगी) बढी हुने भयो," पाण्डेले भने। बिबिसी