कञ्चनपुर: कञ्चनपुरसहित देशका ६६ जिल्लामा शनिबार (फागुन ७ गते) एकै साथ ‘छिमेकी चरा’ एपको माध्यमबाट चरा गणनाको कार्य सुरु हुने भएको छ ।
नेपाल पक्षी संरक्षण सङ्घले एपमार्फत नेपालमै पहिलोपटक चरा गणनाको कार्य गर्न लागिएको हो । स्वयंसेवक खटाएर एपमार्फत चरा गणनाको कार्य गरिन लागेको सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए । “मोबाइलमा छिमेकी चरा एप स्वयंसेवकले डाउनलोड गरी घर नजिकै, छरछिमेक, गल्ली, विद्यालय, पार्कलगायत क्षेत्रमा पाइने चराको फोटो खिचेर एपमा अपलोड गरी अभिलेखीकरणको कार्य हुन्छ ।
एपमै प्रदेश, जिल्ला, स्थानीय तह राखिएको छ, स्वयंसेवकले आफू बसेकै ठाउँबाट चराको प्रजातिसँगै सङ्ख्यासहित एपमा फोटो अपलोड गर्छन् ।” पहिलो चरणमा चरा गणनाको काम यही फागुन ७ गते स्वयंसेवकमार्फत आधा घण्टा गरिने उहाँले बताए ।
त्यसको नतिजा विश्लेषण गरी दोस्रो चरणमा कुन–कुन महिनामा चरा गणनाको कार्य गर्ने भन्नेबारे निक्र्यौल हुन्छ । स्वयंसेवकले एपमार्फत पठाएका फोटोका आधारमा नतिजा स्थानीय सञ्चारमाध्यम र वर्डलाइफ नेपालको वेबसाइटमार्फत सार्वजनिक गरिने छ ।
स्वयंसेवक परिचालन गरी एपमार्फत चरा गणनका लागि दुई महिना अघिदेखि तयारी थालिएको उनले जानकारी दिए । चरा गणनाका लागि एक हजार बढी स्वयंसेवक परिचालन गरिने बताइएको छ । यसअघि चरा गणनाका लागि चरा संरक्षणको क्षेत्रमा क्रियाशीललाई मात्रै समावेश गरिँदै आएकामा यसपटक स्थानीय बासिन्दालाई समेत समावेश गरिएको छ ।
चराको महत्व दर्शाउन, छरछिमेकलाई चरामैत्री बनाउन र चरा संरक्षणबारे सर्वसाधारणलाई सचेत पार्नका लागि एपमार्फत चरा गणनाको कार्य हुन लागेको विज्ञ डगौराको भनाइ छ । एपमा नेपालभरि पाइने (हिमालदेखि तराईसम्मका) चराको सूची राखिएको छ । रासस