कर्णााली : दैलेख जिल्लाको गुराँस गाउँपालिकाको खाता सञ्चालन सम्वन्धमा देखिएको विवाद समाधान भएको छ । गाउँपालिका अध्यक्ष र लेखा अधिकृतबीच देखिएको विवाद समाधान भएपछि गाउँपालिकाको खाता सञ्चालन हुँदा समस्या समाधान भएको हो
दैलेखको गुरासँ गाउँपालिकामा अध्यक्ष खेमराज ओली र लेखा अधिकृत दिनेश दाहालबीच विवाद बढ्दै जाँदा एक महिनादेखि पालिकाबाट हुने सबै भुक्तानीका कार्य रोकिएको थियो । विवाद समाधानपछि कार्य सुचारु भएको लेखा अधिकृत दाहालले बताए ।
विवादले लामो समयसम्म भुक्तानी कार्य राकिएको थियो । तीन जनाको नाममा रहेको खाता दुई जनाको नाममा भएयता पनि शिक्षक, कर्मचारीको तलब भत्ता तथा उपभोक्ता समितिबाट भएका कामहरुको भुक्तानी रोकिएको थियो ।
दशैं अगाडिदेखि विवाद भएपनि पछि त्यो विवाद उत्कर्षमा पुगेको थियो । लेखाबाट निकासा नियन्त्रण गरिएको झोकमा अध्यक्ष ओलीले लेखा अधिकृतको मन्त्रालयमा सरुवाको लागि चिठ्ठी पठाएका थिए ।
मन्त्रालयबाट सरुवा गर्न नसकिने जवाफ पाएपछि अध्यक्षले प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आर्चायलाई लिखित रुपमा लेखा अधिकृतलाई कामकाज नगराउन उर्दी जारी गरेका थिए ।
अध्यक्षकोे लिखित आदेशभन्दै प्रमुख प्रशासकीय अधिकृत आर्चायले लेखा अधिकृतको हाजिरीमा एक महिनादेखि रातो चिन्ह समेत लगाउने कार्य गरेका थिए ।
कानुन अनुसार लेखा अधिकृतले तोकेको वा आफै खाता संञ्चालन हुने व्यवस्था छ । तर, लेखा अधिकृतले कोष लेखा नियन्त्रण कार्यालय दैलेखको सल्लाह अनुसार आफ्नो नाम र प्रमुख प्रशासकीय अधिकृतको नामबाट मात्र खाता चलाएको दावी गरे यसअघि लेखापाल राज कसेरासहित ३ जनाको हस्ताक्षरमा खाता सञ्चालन हुँदै आएको थियो ।
तीन जनामध्ये दुई जनाको हस्ताक्षर भए चेक साटिने बनाइएको थियो । महालेखा नियन्त्रण कार्यालयले सरुवा गर्न नमिल्ने भनेपछि कार्बाहीका लागि अध्यक्षको निर्देशनमा प्रमुख प्रशासनिक अधिकृतले माघ १३ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएका थिए ।
गाउँपालिकाका अध्यक्ष ओलीले जनताको फाइल डस्टविनमा फाल्ने, फाइल लुकाउने, ठेकेदारबाट कमिसन खाने, विना जानकारी कार्यालय छोड्ने, सफ्टवयर बिग्रेको बहानामा काम नगर्ने, कार्यपालिकाको निर्णय विना बाइक खरिद गर्ने, बजेट ईन्ट्री गर्दा गाउँ सभाभन्दा छुट्टै इन्ट्री गर्ने र सुधार गर्नका लागि पाँच पटक मौखिक र ती पटक लिखित जवाफ माग्दा समेत नसुध्रिएको आरोप लगाउने गरेका थिए ।
लेखा अधिकृतको आचरण राम्रो नभएपछि मैले नै कुर्ची हटाएर कार्यालयमा हाजिर हुन नदिएको हो,’ अध्यक्ष ओलीले भने, ‘उसले गल्ती सुधार गर्छु भनेपछि सुध्रिन फेरि पनि एक मौका दिनेछु।’ लेखा अधिकृत दाहालले आफुबाट गल्ती भएको अबदेखी यस्तो गल्ती नदोहोर्याउने बताएपछि समस्या समाधान भएको हो ।