म्याग्दी: अन्तरदेशीय व्यापारिक महत्वको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमाना पोखरेबगरमा कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ ।
भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालयले ठेक्कामार्फत ७० मिटर लामो पक्की मोटरेबल पुल निर्माण गरेको हो । महभिर र पोखरबगरस्थित कालीगण्डकीमा दुईवटा मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले रु १९ करोडमा ठेक्का सम्झौता गरेको थियो ।
हिम सगरमाथाका प्राविधिक टीकाराम भुसालले पोखरेबगरको मोटरेबल पुल निर्माण सकिएको जानकारी दिए । महभिरस्थित कालीगण्डकी नदीमा निर्माण भएको ८० मिटर लामो पुल गत असोज महिनादेखि नै सञ्चालनमा आइसकेको छ । पोखरेबगरमा पनि पुलका संरचना र पहुँचमार्ग निर्माण सकिएको छ । केही दिनमै सञ्चालनका लागि योग्य हुन्छ ।
एघार मिटर फराकिलो दुईवटै पुल निर्माणका लागि ठेकेदार आफैँले डिजाइन र निर्माण गर्ने सम्झौता भएको थियो । दुई वर्षको ठेक्का अवधि भए पनि कोरोना महामारी, निषेधाज्ञा र बन्दाबन्दीका कारण निर्माणको समय एक वर्ष धकेलिएको हो ।
कोरोना महामारी र बाढीपहिराजस्ता प्राकृतिक विपद्का बाबजुद सरकारले थपेको समयभित्रै पुल बनाएको प्राविधिक भुषालले बताए । पोखरेबगरतर्फको पहुँचमार्गमा पर्ने आश्रमको ब्यवस्थापनका विषयमा विवाद हुँदा केही समय अन्योल भएको थियो ।
गाउँपालिका र वडाका जनप्रतिनिधि तथा अगुवाहरूको पहलमा आश्रमलाई व्यवस्थापन गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले सघाउने जनाएपछि स्थानीयवासी पुलसम्म पुग्ने पहुँचमार्ग बनाउन सहमत भएका थिए । विसं २०६४ मा मार्ग खुलेको बेनी–जोमसोम सडकको महभिर र पोखरेबगरमा यसअघि फलामको बेलीब्रिजबाट सवारीसाधन वारपार गर्दै आएका थिए ।
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नै म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माण सुरु गरेको छ । विसं २०७८ असार २९ गते भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता गरेको बिओकेआई–हिमालयन जेभीले पुलको एक पिलर निर्माणका लागि जग खनिसकेको छ ।
विभागका पश्चिम सेक्टर कार्यालयका इञ्जीनियर आशिक रिजालले ११ मिटर चौडाइको हुने पुलको डिजाइन एण्ड बिल्ड (निर्माण व्यवसायीले आफैँ डिजाइन र निर्माण गर्ने) मोडलमा ठेक्का सम्झौता भएको जानकारी दिए । विसं २०८० चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।
विसं २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा ११ वटा घर, बेलीब्रिज, झोलुङ्गे पुल र एक जना मानिस बगाएपछि बर्खायाममा बाढी आउँदा यातायात आवतजावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । पाँच वर्षअघि बगाएको बेलीब्रिजको विकल्पमा पक्की पुल निर्माण हुन लागेको हो । रासस