मोरङ: मोरङका विभिन्न स्थानीय निकायका विद्यालयमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ।
शुक्रबार दिउँसो मोरङमो जहदा गाउँपालिकाको दुर्गा उच्च माविमा विद्यार्थीहरू खोप लगाउन पालो कुर्दै लाइनमा उभिएको देखिन्थे । जहदा भारतसँग सीमा जोडिएको पालिका हो । स्वास्थ्यकर्मीले पाखुरामा सुई घोच्नुअघि विद्यार्थीले आफ्नो जन्ममिति खुल्ने कागजात देखाए । कतिपयले जन्मदर्ता ल्याएका थिए । कतिले भने आफ्नो उमेर खुल्ने कागजात ल्याएका थिए ।
विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहताका अनुसार जिल्लाका सबै पालिकामा रहेका विद्यालयबाट १ लाख ४२ हजार वटा खोपको माग आएको थियो।
यसक्रममा ४२ हजार विद्यार्थीका लागि खोपको माग रहेको बिहीबारसम्म खोप लगाउन विद्यार्थी छुटे भने पुनः खोप कार्यक्रम जारी रहने प्रस्ट्याए। खोपका लागि विद्यालयले सहजीकरण गर्ने बताएका उनले खोप लगाउन विद्यार्थीले उमेर खुल्ने कागजपत्र, जन्मदर्ता, नागरिकता वा विद्यालय परिचय पत्र खुलाउनुपर्नेमा जोड दिए।
सोहीअनुरूप विद्यालय तहलाई खोप उपलब्ध गराइसकेको उनले बताए। शुक्रबारबाट पालिकाका विद्यालय खोप केन्द्रमा अभियान सुरु भएको जानकारी दिँदै मेहताले बिहीबारसम्म खोप लगाउने कार्य सक्ने लक्ष्य राखेको जानकारी दिए।
त्यसैगरी, जहँदा गाउँपालिकास्थित श्रीदुर्गा माविमा कक्षा ४ मा अध्ययनरत आरती हस्दाले कोरोनाविरुद्धको खोप लगाएको बताइन्। १२ वर्षीया हस्दाले कोरोनाबाट जोगिन खोप लगाएसँगै साबुनपानीले हात धुने, मास्क लगाउने तथा भीडभाडमा जान नहुने बताइन्। मझारे स्वास्थ्य केन्द्रकी स्वास्थ्यकर्मी विनिता भट्टराईले शुक्रबार विद्यालयमा १ सय ७० जना विद्यार्थीलाई खोप लगाइएको जानकारी दिइन्।