कैलाली: कोरोनाको जोखिम बढेपछि कैलालीका १३ मध्ये पाँच स्थानीय तहले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन्।
धनगढी उपमहानगर, भजनी नगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र जोशीपुर गाउँपालिकाले सूचना जारी गर्दै हाललाई सेवा बन्द गरेका हुन्।
कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि कैलालीका सरकारी कार्यालयहरू धमाधम बन्द हुन थालेका छन् । कैलालीमा जिल्ला प्रशासनसहित आधा दर्जनभन्दा बढी सरकारी कार्यालयले अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् ।
नगरपालिका, पालिका कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरेको जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी विमलप्रकाश जोशीले बताए । बन्द नभएका पालिकामा पनि धेरैजसो कर्मचारीमा कोरोना देखिएको उनको भनाइ छ । कर्मचारीमा कोरोना देखिएपछि कैलालीको एक मात्र उपमहानगर धनगढीले बुधबारदेखि १ साताका लागि सेवा बन्द गरेको छ ।
उपमहानगरले मंगलबार सूचना जारी गर्दै १२ देखि १८ माघसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जनाएको छ । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले स्वास्थ्य, सरसफाइ, दमकल र एम्बुलेन्स सेवा भने नियमित सुचारु रहने बताए ।
भजनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशबहादुर डगौरा थारुले नगरपालिकाका २ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको बताए । उनले नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले १५ जनाको स्वाब संकलन गरेर सेती प्रादेशिक अस्पतालमा पठाएको जानकारी दिए ।
यस्तै, गोदावरी नगरपालिकाले माघ ९ देखि १५ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।गौरीगंगा नगरपालिकाले पनि माघ १२ देखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिए।
उता जोशीपुर गाउँपालिकाले पनि माघ ११ देखि १८ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत कमलराज उपाध्यायले जानकारी दिए।