सल्यान : सल्यान बनगाड कुपिण्डे नगरपालिकाका दुई वडा अर्को वडाबाट सञ्चालन हुँदै आएका छन्  । स्थानीय तह भएदेखि हालसम्म वडा नम्बर १० र ११ को छिमेकी वडामा सञ्चालन हुँदै आएका छन्  । 
जसले गर्दा स्थानीयले सेवा लिनबाट सास्ती खेपिरहेका छन्  । वडा नम्बर १० को कामकाज वडा नम्बर ७ को ढोरपिपल र वालुवासँग्रहीबाट हुँदै आएको छ । वडा नम्बर १० का नागरिकले अहिलेसम्म आफ्नै वडाबाट सेवा लिएका छैनन । 
यस्तै वडा नम्बर ११ को कार्यालय भए पनि काम भने वडा नम्बर सातबाट सञ्चालन हुँदै आएको छ ।  स्थानीय तहको निर्वाचनपछि दुबै वडाको वडा कार्यालय वडा ११ को टाट्केमा स्थापना भए पनि कामकाज भने उक्त ढोरपिपलबाटै सञ्चालन गर्दै आएका हुन्  । 
वडा नम्बर १० को कुटिचौरमा हाल कार्यालय जस्तो भए पनि नत कर्मचारी नत वडाध्यक्ष नै हुन्छन्  । वडाध्यक्ष मानसिंह पुरी बिरलै वडातिर देखिने गरेको स्थानीयको गुनासो छ । उक्त वडामा हालसम्म सडक पुगे पनि गाडि भने सञ्चालन छैनन । 
सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विकास अन्य पूर्वाधारमा पछि परेको उक्त वडामा विकासे कामका समेत सही ढंगले नभएको गुनासो आइरहेको छ । निर्वाचित जनप्रतिनिधि आए पनि वडा सरकारका प्रतिनिधि वडा कार्यालय हाजिर नहुँदा सामान्य कामका लागि पनि स्थानीयले चार घण्टा पैदल हिँड्नु परेको छ । गाविस हुँदा सुविधा भएको वडा आउँदा झन् हिँडनु परेको वडा नम्बर दशवासीको भनाइ छ । 
यस्तै अर्का वडाका अध्यक्ष कैलाश वुढा पनि वडा कार्यालयमा नभइ ढोरपिपलबाट सिफारिस लगायतका अन्य कामकाज गरिरहेका हुन्छन्  । उक्त वडामा नगरपालिका कामकाजको लागि आउने–जाने र सदरमुकाम सल्यान जानेहरुका लागि बाटो पर्छ ।
यी दुई वडाको काम कारबाहीबारे सोमबार मात्रै गठबन्धनमा सामेल दलहरुले विरोध जनाएका थिए ।