कर्णाली : मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले शैक्षिक उत्कृष्टता र स्मार्ट प्रशासन सञ्चालनमा जोड दिने योजनाका साथ अघि बढिएको बताएका छन ।
मप विश्वविद्यालयका १० आङ्गिक क्याम्पसको समस्या एकीकृत समाधानका लागि विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टको सभाहलमा दुई दिनसम्म चलेको अन्तरक्रिया कार्यक्रममा आज उपकुलपति सिंहले स्मार्ट प्रशासन र शैक्षिक उत्कृष्टता हासिल गर्नतर्फ विशेष जोड दिइएको बताए । उनका अनुसार विश्वविद्यालयलाई प्रणालीगत व्यवस्थापन, चुस्त प्रशासन सञ्चालन र उत्कृष्ट शैक्षिक गतिविधि गर्न नयाँ शिराबाट काम सुरु हुनेछ ।
“विश्वविद्यालयको स्थापनापश्चात समायोजन भई आएका १० वटा आङ्गिक क्याम्पसका विभिन्न समस्या छन्”, उनले भने, “दुईदिने अन्तरक्रियाबाट रूपान्तरणको प्रक्रियामा घटुवा हुन गएका प्राध्यापक तथा कर्मचारीहरुको उचित व्यस्थापन, भत्ता, उपदान तथा निवृतिभरणसम्बन्धी व्यवस्था, आवश्यक जनशक्तिको उचित प्रबन्ध, विद्यार्थीको शुल्क दुई किस्तामा लिई पठनपाठनको प्रक्रियामा उत्साह बढाउनेलगायत विभिन्न समस्या समाधान गर्न कार्यकारी परिषद्बाट निर्णय गर्ने सहमति गरिएको छ ।”
उपकुलपति प्रा. डा. सिंहले यस कार्यक्रमले क्याम्पसलाई दैनिक कार्य सञ्चालन गर्न अत्यावश्यक पर्ने मागहरु पूर्ति गर्दै शिक्षक, कर्मचारी र विद्यार्थीको मनोबल उच्च पार्दै समग्र विश्वविद्यालयको शैक्षिक उन्नयन र सहज शैक्षिक वातावरण सिर्जना हुने विश्वास लिइएको बताए । जलजला बहुमुखी क्याम्पस रोल्पाका प्रमुख खेमबहादुर खड्काले समायोजनमा छुटेका विषयहरु समेट्ने गरी अन्तरक्रिया भएको बताए । उनका अनुसार ती विषयहरु कार्यकारी समितिले पास गर्ने अपेक्षा लिइएको छ ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार, विभिन्न सङ्कायका डीन, परीक्षा व्यवस्थापन कार्यालय प्रमुख, विभिन्न निर्देशनालयका कार्यकारी निर्देशक, १० वटा आङ्गिक क्याम्पसका क्याम्पस प्रमुख, उपप्राध्यापक, उपकुलपति सचिवालयका सदस्य, केन्द्रीय कार्यालयका कर्मचारीलगायत उपस्थिति रहेको थियो ।