पोखरा । गण्डकी सरकारले सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडादर बढाएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले भाडादर बढाउने निर्णय भएको जानकारी दिएका हुन् ।
यो भाडादर कहिलेदेखि लागु गर्ने भन्ने विषय चाहिँ सम्बन्धित सवारी व्यवसायी र मन्त्रालयबिच केही सर्तसहितका प्रतिबद्धता छन्, त्यसमा सम्झौता भएपछि मात्रै निर्णय हुनेछ । संघ सरकारले यसअघि नै सार्वजनिक सवारीको भाडादर २८ प्रतिशतले बढाउने निर्णय गरिसकेको छ । उक्त निर्णयको विरोधसमेत भयो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार ट्याक्सीको भाडा ८० रुपैयाँबाट प्रत्येक दुई सय मिटरमा १० रुपैयाँ थप हुनेछ । यस्तै लामो दुरीका सवारीमा २३.५१ प्रतिशत, नगर बसमा २२.५५ प्रतिशत, ट्रकमा १४.५७ प्रतिशत र जीपमा ५.५० प्रतिशत भाडा बढेको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री समेत रहेका प्रवक्ता कुमार खड्काले बताए ।
नयाँ समायोजन अनुसार १५ किलोमिटर भित्रमा ‘फ्लेग डाउन रेट’ ८० र प्रत्येक २ सय मिटरमा १० रुपैयाँका दरले ट्याक्सी भाडा निर्धारण भएको छ ।
यसअघि पोखरामा शुरुआती भाडा १४ र त्यसपछिको भाडा ७ रुपैयाँ मात्रै थियो । ‘कागजी रुपमा मात्रै थोरै देखिएको हो । त्यो भाडामा अहिले कोही पनि ट्याक्सी चल्दैनन् । हेर्दा २८ रुपैयाँ देखिएपछि यात्रु ३०० सम्म तिर्न बाध्य थिए,’ मन्त्री खड्काले भने, ‘अहिले हामी कागजी रुपमा महंगो भएपनि व्यावहारिक रुपमा ३० देखि ५० प्रतिशत सस्तो हुन पुगेका छौं ।’
तर, प्रदेशका हकमा भने सवारीसाधन व्यवस्थापन देखि दर्ता, राजस्वको जिम्मा सम्बन्धित प्रदेश सरकारलाई नै दिइएको छ । प्रदेश सरकारको राजस्वको मुख्य स्रोत पनि सवारी कर नै हो ।