काठमाडौँः यसअघि केही महिना अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ओरालो लागेपनि फेरि मूल्य बढ्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै निगमको खरिद मूल्य पनि बढेको छ । जनवरी १६ मा प्राप्त मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ १८ पैसा, डिजेलमा आठ रुपैयाँ ८१ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा रहेको छ ।
नयाँ मूल्यअनुसार निगमलाई आगामी १५ दिनमा पेट्रोलको बिक्रीबाट रु ४२ करोड ७९ लाख, डिजेलको बिक्रीबाट रु ७९ करोड ९९ लाख र एलपी ग्यासको बिक्रीबाट रु एक अर्ब १४ करोड ८६ लाख घाटा हुने निगमको आँकलन छ ।
निगमलाई मट्टितेलमा २० रुपैयाँ ५० पैसा र हवाई इन्धनमा १४ रुपैयाँ ७३ पैसा नाफा रहेको छ । मट्टितेलको बिक्रीबाट निगमलाई ५० दिनमा रु एक करोड ८७ लाख र हवाई इन्धनबाट रु ११ करोड ३७ लाख नाफा हुनेछ । मट्टितेल र हवाई इन्धनको बिक्री न्यून हुने हुँदा त्यसको बिक्रीबाट हुने नाफाले निगमको घाटा पूर्तिमा उल्लेख्य योगदान दिन सकेको छैन ।
आइओसीबाट निगमले प्रत्येक १५÷१५ दिनमा डिजेल, पेट्रोल र हवाई इन्धनको नयाँ मूल्य सूची प्राप्त गर्दै आएको छ । यस्तै मट्टिटेल र एलपी ग्यासको मूल्य भने एक÷एक महिनामा आउने गर्छ । चालू आर्थिक वर्षको छ महिनाको अवधिमा निगमले आइओसीबाट १२ पटक नयाँ मूल्य प्राप्त गरेको थियो । प्राप्त मूल्यमध्ये अधिकांश बढेर आएको निगमको भनाइ छ । निगमले गत आवमा करिब रु दुई खर्ब ३२ अर्ब बराबरको पेट्रोलियम पदार्थको कारोवार गरेको थियो । भन्सार शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), सडकमर्मत सम्भार शुल्क र प्रदूषण शुल्कलगायत अन्य करबापत निगमले वार्षिक करिब रु ९८ अर्व राजस्व तिर्दै आएको छ ।
भारतमाभन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो
नेपालमा पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेको भनेर गुनासो आइरहँदा भारतको तुलनामा नेपालमा इन्धनको मूल्य सस्तो रहेको छ । भारतीय सीमा बजार रक्सौलको तुलनामा नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिर ३८ रुपैयाँ ३ पैसा, डिजेल ३१ रुपैयाँ १२ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर ५० रुपैयाँ ६५ पैसा तथा हवाई इन्धन (आन्तरिकतर्फ) भारतको कोलकताभन्दा नेपालतर्फ प्रतिलिर ३२ रुपैयाँ ९६ पैसा सस्तो रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।