महोत्तरी: सामान्यतया तराईमा झोलुङ्गे पुल त्यति प्रचलनमा छैन । त्यसैले महोत्तरीको मटिहानी नगरपालिकामा सोमबार सञ्चालनमा आएको झोलुङ्गे पुल हेर्नेको लर्को नै देखिएको छ ।
मटिहानी–२ र ६ जोड्ने सडकको बिग्ही नदीमा बनेको नवनिर्मित पुल हेर्न अहिले लामो लर्को देखिएको हो । “मधेसमा झोलुङ्गे पुल त्यति बन्दैनन् नि ! त्यसैले नौलो लागेर पनि हेर्न आउने बढेका हुन्”, नगरपालिकाका उपप्रमुख शिवोदेवी साह भन्नुहुन्छ, “थपमा हिँडडुल सहजताको खुशी पनि सर्वसाधारणमा देखिएको हो ।
मटिहानी नगरपालिकाको मुख्य बजार मटिहानीबाट धिरापुर आउन–जान भइरहेको कठिनाइलाई नवनिर्मित पुलले चिरेको छ । नदीवारि मुख्य तरकारी बालीको पकेट क्षेत्र मानिने मटिहानीको धिरापुरबाट अब उत्पादित फसल बजार पु¥याउन सहज भएको किसान बताउँछन् । खासमा मटिहानी बस्तीतिरका थुप्रै किसानको जग्गा बिग्हीपारि धिरापुरतर्फ हुँदा पुल नभएर खेतीपाती हेर्न नै असुविधा खेप्दै आएका किसानले अब राहत महसुस गरेका छन् ।
यो झोलुङ्गे पुल नयाँ कुरा लागेर मात्र हेर्ने भीड देखिएको होइन” मटिहानी–६ मटिहानी बस्तीका किसान नूरमोहम्मद राइन भन्नुहुन्छ, “घर–खेत आउन जान एवं फसल र बजार जोड्न पुलले ठूलो काम गर्यो, आम किसान यो खुशी साट्न पुल सञ्चालन भएको हेर्न आएका हुन् ।
सोमबार दिउँसो नगरप्रमुख हरिप्रसाद मण्डलले झोलुङ्गे पुल उद्घाटनको क्रममा रिबन काट्दै गर्दा सर्वसाधारणले जयजयकारको नारा लगाएका राइनले बताउनुभयो । नेपाल सरकारको सशर्त अनुदान र मटिहानी नगरपालिकाको गरी रु ५२ लाखको लागतमा झोलुङ्गे पुल तयार भएको हो ।
यो पुल ३२ मिटर लम्बाइ र एक दशमलव पाँच (१.५) मिटर चौडाइको रहेको मटिहानी नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिए । झोलुङ्गे पुलमा हिँड्दा लच्कने भएको हुँदा किशोरवय र सो उमेरमा टेक्दै गरेका बालबालिकालाई थप रमाइलो बनेको शर्माको भनाइ छ । रासस