सिमकोट: हुम्लावासीको तर्फबाट जनप्रतिनिधि, राजनीति दल र स्थानीय प्रशासनद्धारा हवाई तथा पैदल मार्गको खाद्यन्न ढुवानी कार्यलाई तिब्रता दिन माग गरिएको छ ।
पैदल मार्ग र हवाई मार्गबाट खाद्यन्न ढुवानी कार्य सुस्त गति हुँदा जनतालाई बिक्री बितरणमा समस्या देखिएपछि लिमिटेडको प्रधान कार्यालय र कर्णाली प्रदेश सरकारसंग माग गरिएको हो । प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले लिमिटेडको खाद्यन्न निक्कै सुस्त गतिमा ढुवानी भइरहेकोमा आपत्ती जनाउदै सो कार्यलाई तत्काल तिब्रता दिन माग गर्ने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले हालसम्म पचास भन्दा बढी प्रतिशत खाद्यन्न ढुवानी भइसक्ने पर्नेमा सोमबारसम्म यस वर्षको स्वीकृत कोटाको खाद्यन्न मध्य एक हजार दुई सय क्वीन्टल मात्र ढुवानी भएको कारण अब त्यसलाई चाँडो ढवानी गर्ने व्यवस्थाका लागि माग गरिएको बताए । जब कि यस वर्ष नेपालगंज र सुर्खेतबाट दश हजार क्वीन्टल खाद्यन्न कोटा निर्धारण गरिएको छ ।
पैदल मार्गबाट ढुवानी हुनु पर्ने खाद्यन्नको अबस्था यो भन्दा अझै नाजुक रहेको छ । उनले गतिलो किसिमले खाद्यन्न ढुवानी हुन नसकेको कारण चार महिनादेखि जनतालाई खाद्यन्न बिक्री गर्न नसकिएको जानकारी दिए । बैठकले तत्काल खाद्यन्न ढुवानी गर्ने भएको निर्णय लिमिटेड र कर्णाली प्रदेश सरकारलाई पठाईएको छ ।
शुक्रवारबाट जनताले पाउने कोटाको पचास प्रतिशत मात्र खाद्यन्न बिक्री गर्ने भनेपछि स्थानीयको बिरोध जनाउदा सिमकोट गाउँपालिकाका १ र २ नम्बर वडाका वासिन्दालाई बिक्री गरेर रोकिएको छ । हाल लिमिटेडको हुम्ला शाखामा एक हजार क्वीन्टल खाद्यन्न मात्र मौज्दात रहेको छ ।
दैनिक सिता एयरले दुई देखि तीन उडानबाट खाद्यन्न ढुवानी गर्दै आएको छ । बैठकमा सहभागी सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले अब लिमिडेटको केन्द्रीय कार्यलयमा यो विषयलाई लिएर डेलिगेशन जाने बताए ।
उनले खाद्यन्न ढुवानीको जिम्मा पाएर पनि चाँडो ढुवानीको व्यवस्था गर्न नपाउदा जनताले खाद्यन्न समस्या भोग्नु परेको बताए । बैठकमा जिल्लास्थित सबै राजनीति दलको पनि उपस्थिती रहेको थियो ।
एक दिन अगाडी कर्णालीका मुख्यमन्त्री जीवन बहादुर शाहीले हुम्लामा खाद्यन्न चाँडो ढुवानी गर्ने व्यवस्था गर्न लिमिटेडलाई निर्देशन दिएका थिए ।