सिमकोट : हुम्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्धारा ढुवानी अनुदानमा बिक्री हुने चामलको मूल्य घटेको छ । हुम्ला शाखाको लिखित रुपमा मूल्य घटाउन गरेको अनुरोधलाई केन्द्रको शाखाले घटाएको हो ।
शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले शाखाद्धारा बिक्री हुने सबै प्रकारका चामलको मुल्य घटेको जानकारी दिए । केही दिन अगाडी शाखाले चामलको मुल्य घटाउन अनुरोध गरेकोमा केन्द्रले समर्थन गर्दै घटेको मुल्यमा शाखाले कार्यान्वयनमा ल्याएको उनले बताए ।
यसअघि घटेको मुल्य शाखाले अत्यावश्यक कामका लागि बिक्री हुने खाद्यन्नको मुल्य गत आइतबारबाट लागुगरि सकेको बताउँदै अधिकारीले शुक्रवारबाट बिक्री हुने सर्वसाधारणका लागि पनि त्यो मुल्य लागू हुने जनाए ।
घटेको मूल्यमा अरुवा मोटा चामल प्रति क्विन्टल पाँच हजार आठ सयबाट पाँच हजार छ सयमा पुगेको छ । अरुवा मकवानपुर चामलको मूलय प्रति क्विन्टल पाँच हजार नौ सयबाट घटेर पाँच हजार आठ सयमा पुगेको छ ।
यस्तै सोना मन्सुली चामलको मुल्य पुरानै प्रति क्विन्टल छ हजार दुई सय मै कायम रहेको छ । यता अरुवा मध्यमको मुल्य प्रति क्विन्टल छ हजार एक सयबाट घटेर छ हजारमा पुगेको छ । जापनिज चामलको मुल्य प्रति क्विन्टल छ हजार पाँच सयबाट घटेर पाँच हजार सात सयमा झरेको छ । त्यसैगरि स्टिम जिरा चामल प्रति क्विन्टल आठ हजार दुई सयबाट घटेर आठ हजारमा झरेको प्रमुखले बताए ।
यो मुल्य सबै सर्वसाधारणका लागि लागु भएको र त्यसमा पच्चीस प्रतिशत थपेर कर्मचारीहरुलाई लागु भएको शाखाले जनाएको छ । यसअघि दसैँलाई मध्यनजर राखिर खाद्यन्नमा मुल्य घटाएको लिमिटेडले पहिलो पटक खाद्यन्नको मुल्य घटाएको हो ।
यसबाट सर्वसाधारणलाई प्रति क्विन्टल एक सय रुपियाँदेखि आठ सय रुपियाँसम्म मुल्य घट्दा राहत मिलेको छ । घटेको मूल्य जिल्लाका बिक्री केन्द्र र डिपोमा पनि लागु भइसकेको शाखाले जनाएको छ ।