काठमाडौं: कपिलवस्तु जिल्ला अदालतले ६ जनाको हत्याको आरोप लागेका 'मोस्ट वान्टेड’ नसिम अहमद खानलाई निर्दोष रहेको भन्दै सफाइ दिने फैसला सुनाएको छ।
आइतबार र सोमबार पक्ष–विपक्षका कानुन व्यवसायीको बहस पैरवीपछि कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले उनलाई ५ मुद्दामा सफाइ दिएको हो ।
२०६४ चैत ९ मा साविक हथिहवा गाविस–३ का शिवपूजन कुर्मीको हत्या भएको थियो। ओमप्रकाश चौधरीको जाहेरीमा दर्ता भएको मुद्दा ०७६ असार २२ मा मुल्तबीबाट जगाइएको थियो। ०६४ फागुन ६ मा साविक मोतीपुर गाविस–१ का भुवन भनिने प्रेम परियारको गोली हानी हत्या भएको थियो।
शान्ति परियारको जाहेरीमा उक्त मुद्दा ०७५ असार २५ मा मुल्तबी जगाई अदालती प्रक्रिया सुरु गरिएको थियो । ०६५ कात्तिक ७ मा साविक पिपरा गाविसका तत्कालीन सचिव राममिलनप्रसाद गुप्ता र ०६७ वैशाख १३ मा साविक पकडी गाविस–६ का राजेन्द्रप्रसाद तिवारीको हत्या भएको थियो । कुर्मी, परियार, गुप्ता, तिवारीको हत्याको आरोप खानमाथि थियो । यीसँगै सरिता विकले जाहेरी दिएको कर्तव्य ज्यान मुद्दामा पनि उनले सफाइ पाएका छन् ।
गुप्ता र तिवारी हत्या मुद्दा गत साउन र भदौ अन्तिम साता मुल्तबी जगाएर प्रक्रिया अघि बढाइएको थियो। पारसनाथ कोहार जाहेरवाला रहेको कर्तव्य ज्यान मुद्दामा भने अदालतले खानलाई कसुरदार ठहर गरेको छ। तर उनलाई अदालतले सजाय सुनाउन बाँकी छ। यो विवाद माओवादी नेताको हत्यासम्म पनि जोडिएको छ।
तत्कालीन माओवादी नेता शिवपूजन चौधरीको हत्या अभियोग उनलाई पनि लागेको थियो। यही अभियोग लागेका सुखीनाथ पाण्डे (प्रितम) ०७६ पुस १७ मा अदालतमा हाजिर भई १० लाख धरौटीमा छुटेका थिए। पछि उच्च अदालतले पूर्पक्षका लागि थुनामै राख्नू भनेपछि पाण्डे फरार भएका थिए।