भक्तपुर: जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ ।
कोरोना भाइरस सङ्क्रमण फेरी बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ गरिएको र आजदेखि माइकिङ सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए । घर बाहिर निस्कँदा मास्क नलगाउनेलाई अब कारबाही गरिने भएको छ ।
कोरोना सङ्क्रमणबाट बच्न अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेका छौँ, आजदेखि माइकिङ गर्दैछौँ, मास्क लगाउन, साबुनपानीले हात धुन, स्यानिटाइजर लगाउन, सामाजिक तथा भौतिक दूरी कायम राख्न, भीडभाड नगर्न आह्वान गर्दैछौँ ।
सार्वजनिक यातायातका साधनमा भीडभाड नगर्न, अनिवार्य मास्क लगाउन, चालक तथा सहचालकलाई मास्क, फेसमास्क लगाउन कडाइ गरिने छ । प्रजिअ शर्माले भने सार्वजनिक यातायातदेखि सार्वजनिकस्थलमा अनुगमन गर्छाैँ ।” जिल्लाका सरकारी तथा निजी अस्पताललाई तयारी अवस्थामा रहन उनले निर्देशन दिए।
सङ्कट समाधानका लागि यहाँका सबै अस्पताललाई तयारी अवस्थामा राखिएको छ । भक्तपुरमा कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन जनप्रतिनिधि, सुरक्षा निकायलगायत सबै संयन्त्रको सहयोग र समन्वयमा काम भइरहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारका अनुसार मध्यपुरथिमि नगरपालिकामा ११ जनामा नयाँ भेरियन्ट फेला परेको छ । चाँगुनारायणमा तीन, सूर्यविनायकमा आठ र अन्यमा चार नयाँ सङ्क्रमित थपिएका छन् । भक्तपुरमा हालसम्म कोरोनाबाट ३५७ जनाको मृत्यु भएको छ । जिल्लामा १८५ सक्रिय सङ्क्रमित छन् ।
हालसम्म दुई लाख ३३ हजार ७५१ जनाले खोप लगाएको मिजारले जानकारी दिए । भक्तपुर नपामा ५१ हजार ५९६, चाँगुनारायणमा ४१ हजार ९०९, मध्यपुरथिमिमा ५८ हजार ५८१ र सूर्यविनायक नपामा ८१ हजार ७०५ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । रासस