वीरेन्द्रनगर : मुख्यमन्त्री जीवनबहादुर शाहीले कोरोनाको सम्भावित तेस्रो लहर रोक्नका लागि पूर्व तयारीमा लाग्न सरोकारवालाहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री शाहीले जनशक्ति ब्यवस्थापनमा सरकारले तयारी गरिरहेको बताउँदै स्थानीय तह र स्वास्थ्य संस्थाहरूलाई कोरोना महामारीको पूर्व तयारीमा जुट्न निर्देशन दिए । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिकाको छिन्चुमा ५० वेडको सरूवा रोग अस्पताल निर्माणका लागि प्रक्रिया सुरू गरिएको बताए ।

‘कोरोनाको संभावित तेस्रो लहरको सामना गर्नका लागि सरोकारवाला सबै निकाय तयारी अवस्थामा रहनुपर्छ’ आइतबार मेहलकुना अस्पताल र छिन्चुको संक्रमण रोग अस्पताल निर्माण हुने स्थानको निरीक्षण गर्दै मुख्यमन्त्री शाहीले भने, ‘तीन तहका सरकारबीच सहकार्य र समन्वय गरेर सम्भावित महामारीलाई रोक्न पहल गर्नुपर्छ ।’
मुख्यमन्त्री शाहीले सुर्खेतसहित सल्यान, जाजरकोट, रूकुम, डोल्पामा अक्सिजन अभाव हुन नदिनका लागि मेहलकुनामा प्रदेशकै ठूलो अक्सिजन प्लान्ट स्थापना गरिएको बताए । मुख्यमन्त्री शाहीले अब कर्णालीमा अक्सिजन अभाव नहुने बताए । ‘सुर्खेतसहित रूकुम, दैलेख, कालिकोटलगायतका जिल्लामा अक्सिजन प्लान्ट स्थापना गरिएका छन्, उनले भने, ‘अब कर्णालीमा अक्सिजनको अभाव हुँदैन् ।’
मुख्यमन्त्री शाहीले कर्णाली भित्रिने मुख्य नाकाहरूमा कोरोना परीक्षण गरेर मात्रै प्रदेशभित्र भित्र्याईने बताए । ‘सर्खेतको कुईनेमा अस्पताल सन्चालनमा छ, बबईबाट आउने कर्णालीबासीका लागि छिन्चुमा क्वारेन्टाइन बनाउँदैछौं’, उनले भने, ‘सल्यानको कपुरकोट नाकामा पनि आवश्यक तयारी थालिएको छ ।’
गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले कर्णालीको आधा जनसंख्यालाई सेवा दिइरहेको मेहलकुना अस्पताललाई जनशक्ति, पूर्वाधार र ओैषधिजन्य उपकरणले सम्पन्न बनाइनुपर्ने बताए ।
उनले कोरोनाको तेस्रो लहरको सामना गर्नका लागि अहिल्यैदेखि तयारी अवस्थामा लाग्नुपर्ने बताए । मेयर पुनले अस्पताल सन्चालन ब्यवस्थापन समितिलाई पूर्णता दिन प्रदेश सरकारसँग माग गरे । मेयर पुनले कर्णालीकै ठूलो अक्सिजन प्लान्ट गुर्भाकोटमा स्थापना प्रक्रियामा रहेको बताउँदै कोरोना महामारीमा यसले ठूलो सहयोग पुर्याउने बताए ।
- पत्रकार नगेन्द्र उपाध्यायको सहयोगमा