मनाङ: कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई मनाङ ङिस्याङ गाउँपालिकाले राहत सहयोग गरेको छ ।
सङ्क्रमणले गर्दा ज्यान गुमाएका परिवारलाई राहत पुर्याउने उद्देश्यले गाउँपालिकाले सहयोग गरेको सो गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए। उनका अनुसार पालिकावासीलाई समाजमा सहज बनाउन राहत प्रदान गरिएको हो ।
प्रतिव्यक्ति रु एक लाखका दरले राहत प्रदान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीनारायण यादवले जानकारी दिए । सहयोगले सङ्क्रमणबाट ज्यान गुमाएकाको परिवारलाई थोरै भए पनि राहत मिल्ने उनले बताए ।
हालसम्म जिल्लाभरमा सङ्क्रमितको २२३ सङ्ख्या पुगेकोमा चारजनाले ज्यान गुमाएका थिए । दुईजना अन्य जिल्लाका भएकाले राहत उपलब्ध गराउन नसकिएको र जिल्ला एवं गाउँपालिकाभित्रका सङ्क्रमणका कारण ज्यान गुमाएको परिवारलाई राहत व्यवस्थापन गरिएको यादवले बताए ।
जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो । सरकारद्वारा लक्षित बालबालिकालाई समेत खोप लगाइएको आचार्यले बताए । उनका अनुसार हालसम्म जिल्लाको तल्लो भागका १७५ बालबालिकालाई खोप लगाइसकिएको छ ।
नासों गाउँपालिका र चामे गाउँपालिकाका १२ देखि १८ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइएको उनले जानकारी दिए । त्यस्तै, हिमपातका कारण विद्यालयहरु बन्द हुँदा माथिल्लो मनाङका लक्षित बालबालिकालाई खोप लगाउन नसकिएको उन बताए ।
ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका बालबालिकालाई खोप लगाउन नसकिएको उनले बताए । “माथिल्लो मनाङ र नार्पाभूमिका बालबालिका जाडो छल्न काठमाडौँ, पोखरा, नारायणगढ, तनहुँ, लमजुङतर्फ गइसकेकाले खोप लगाउन सकिएको छैन । जिल्लामा नै रहेका बालबालिकालाई भने खोप लगाइसकिएको छ ।
जिल्लामा आउनासाथ बाँकी बालबालिकालाई पनि खोप लगाउछौँ,” आचार्यले भने उनीहरुका लागि आवश्यक खोप जिल्लामा आइसकेको छ ।” फागुनको दोस्रो एवं तेस्रो साता बालबालिकाहरु अभिभावकसँगै जिल्ला फर्किन्छन् ।
पहाडतर्फ लागेका बालबालिकाले खोप लगाइसकेको खण्डमा जिल्लामा आएको खोप फिर्ता पठाइने उनले बताए । जिल्लामा आउँदासम्म खोप नलगाएको भए उनीहरुलाई खोप लगाउन स्वास्थ्यकर्मीलाई तालिम दिएर तयारी अवस्थामा राखिएको उनले बताए । रासस