काठमाडौं: नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणसँगै धार्मिक भ्रमण गराएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत वृद्धाश्रमका ४५ जना ज्येष्ठ नागरिकलाई ज्याकेट तथा आवश्यकताअनुसार टोपीका साथै राधाकृष्ण गुरुकुलका २३ जना बटुकलाई टोपी वितरण गरेको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए।
उक्त अवसरमा वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई स्याङ्जाको चापाकोट नगरपालिका–६ स्थित केलादीघाट घामको धार्मिक भ्रमण गराइएको थियो । केलादीघाट भ्रमणका क्रममा त्यहाँस्थित वृद्धाश्रममा बस्दै आएनुभएका ज्येष्ठ नागरिकका लागि १५ ज्याकेट र ४० वटा टोपी पनि वितरण गरिएको उनले बताए ।
असहाय ज्येष्ठ नागरिकलाई केलादीघाटको भ्रमण गराइएको उल्लेख गर्दै उनले यस क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा प्रवद्र्धन गर्नु आवश्यक भएको बताए ।
भ्रमणका क्रममा केलादीघाटमा आयोजित कार्यक्रममा चापकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले केलादीघाटको ऐतिहासिक एवं सांस्कृतिक महत्व रहेको जनाउँदै यसको प्रवद्र्धन अपरिहार्य भएकामा जोड दिए । राधा दामोदर मन्दिर सञ्चालक समितिका अध्यक्ष लेखनाथ बस्ताकोटीले पौराणिकरुपमा समेत यस मन्दिरकोे विशेष महत्व रहेको बताउँदै यसको प्रचारप्रसार हुन नसकेको बताए ।
समितिका सचिव घनश्याम खनालले २००८ मा राधा दामोदरको मन्दिर निर्माण भई मानवता र अहिंसाको सन्देशसहित आध्यामिक जागरण ल्याउन यस मन्दिरले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
कार्यक्रममा चापाकोट नगरपालिका–६ का वडाध्यक्ष एकदेव भट्टराई, ७ का वडाध्यक्ष रविचन्द्र बस्ताकोटी, घिरिङ गाउँपालिका–१ का वडाध्यक्ष गङ्गाराम कुमाल, मन्दिर सञ्चालक समितिका उपाध्यक्ष तीर्थराज अधिकारीलगायतले केलादीघाट क्षेत्रको धार्मिक महत्वलगायतमा प्रकाश पारेको छन्।
भ्रमणका क्रममा उक्त क्षेत्रको रामघाट क्षेत्रको अवलोकनसमेत गरिएको थियो । केलादीघाट र रामघाट क्षेत्र एक अर्कामा अन्तरसम्बन्धित रहेको बताउँदै रामघाट धामका महन्त प्रकाश गिरीले यी क्षेत्र प्रचारप्रसारको पर्खाइमा रहेको बताए । रासस