कर्णाली : कर्णाली प्रदेश सरकार मुख्यमन्त्री जीवनबहादुर शाहीले मानवसेवा आश्रमलाई बोलीमा नभई व्यवहारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । मानवसेवा आश्रम कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘भोजन जुटाउन भजन सन्ध्या’ कार्यक्रमा उनले सरकारले तत्काल जग्गा उपलब्ध गर्न नसक्ने तर बजेट प्राथमिकता राखेर मद्दत गर्ने बताए ।
“हामीले दिने चालु आवमा रु १५ लाखले तपाईंको समस्या समाधान हुँदैन । यसमा थप्नुपर्ने कति हो निवेदन ल्याएर आउनुस् सहयोग गर्छु”, उनले भने, “तपाईंहरुलाई मैले प्रदेश सरकारको नाम भजाइराख्नुपर्ने अवस्था बनाउने छैन ।” सरकारले गर्ने काम मानवसेवा आश्रमले गरेर सहयोग गरेकोप्रति प्रशंसा गर्दै मुख्यमन्त्री शाहीले मानवता प्रवद्र्धन अभियानलाई अघि बढाउने गरी प्रदेश सरकारले नीति ल्याएको जनाए । उनले बुद्धको देशमा शान्ति हराउँदै गएको बेला मानवसेवा आश्रमले मानवता प्रवद्र्धन अभियान बढाएर कर्णाली प्रदेश सरकारले सहयोग पुर्याएको प्रतिक्रिया दिए ।
मानवसेवा आश्रमका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संयोजक सृजना ओलीले आश्रमको आव २०७७÷७८ को प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । “मानवसेवाको क्रममा हामीले मनोरोगी, बेवारिसे व्यक्तिहरुलाई उद्धार गरी हालसम्म २५६ जनालाई सेवा प्रदान गरेका छौँ”, उनले भनिन्, “त्यसमा ११४ जनालाई पारिवारिक पुनर्मिलन, २३ जनालाई सामुदायिक पुनःस्थापना, ४८ जनालाई स्वेच्छाले घर पठाइएको छ ।”
आश्रमको संरक्षणमा रहँदा भने १८ जनाको मृत्यु भएको बताउँदै संयोजक ओलीले आश्रममा हाल ७४ जना आश्रित रहेको र १६ जनालाई पुनःउद्धार गरिएको जनाए । आश्रमका सुमा रावलले आव २०७७÷७८ मा रु ६० लाख ६५ हजार ७७४ आम्दानी भएकोमा रु ५० लाख ५५ हजार ६५७ खर्च भएको बताए । उनले अनुसार स्थिर पूँजी रु १२ लाख २५ हजार ९४३ रहेको छ ।
‘भोजन जुटाउन भजन सन्ध्या’ कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारु, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्ट, सुर्खेतका स्थानीय तहका प्रमुख तथा अध्यक्षको सहभागिता रहेको थियो ।