दोलखा: स्थानीय तहहरुमा न्यायिक समिति गठन भएको साढे चार वर्षमा एक हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् । दोलखा जिल्लाभरिका नौ स्थानीय तहहरुमा दर्ता भएका एक हजार ४१ मुद्दामध्ये ८३२ को मिलापत्र भएका छन् ।
बाँकी २७ मुद्दा अदालतमा पठाइएका छन । १८८ मुद्दा प्रक्रियामा रहेको बताइएको छ । सबैभन्दा बढी भीमेश्वर नगरपालिकामा दर्ता भएको २३८ मुद्दामध्ये १६९ को मिलापत्र भएका छन् ।
छवटा अदालतमा पठाएका छन् भने ६३ मुद्दा प्रक्रिमा रहेको भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले बताए। उपप्रमुख बस्नेतका अनुसार प्राप्त उजुरीको विश्लेषण गर्दा साध, सिमाना, जग्गा विवाद, गाली बेइज्जती, ढल निकासालगायतका रहेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन को ४७ को अनुसार ९७ र सोही दफाको २ अनुसार १४१ वटा मुद्दा दर्ता भएका थिए । मेलुङमा ४६ मुद्दा दर्ता भएका थिए जसमा २९ मिलापत्र र १७ मुद्दा प्रक्रियामा रहेको उपाध्यक्ष कल्पना भण्डारीले जानकारी दिए।
बैतेश्वर गाउँपालिकामा दर्ता भएका १३९ मध्ये १११ मिलापत्र भइसकेको र बाँकी २८ प्रक्रियामा रहेको जनाइएको छ । तामाकोशी गाउँपालिकामा दर्ता भएका ८८ मुद्दामध्ये ७७ मिलापत्र र ११ प्रक्रियामा छन् । गौरीशङ्कर गाउँपालिकामा दर्ता भएका ८८ मध्ये तीन अदालतमा पठाइएको छ भने ७७ मिलापत्र भइसकेका छन् ।
बाँकी आठ प्रक्रियामा रहेको समितिले जनाएको छ । जिरी नगरपालिकामा दर्ता भएका १६९ मध्ये १०६ मिलापत्र भएका छन् । १४ अदालत पठाइएको छ भने बाँकी ४९ प्रक्रियामा छन् । त्यसैगरी शैलुङ गाउँपालिकामा दर्ता भएका १२७ मध्ये एउटा जिल्ला अदालत पठाइएको छ ।
१२६ मुद्दाको मिलापत्र भएको छ । कालीञ्चोक गाउँपालिकामा दर्ता भएको १०३ मध्ये ९८ मिलापत्र भएका छन् । पाँच प्रक्रियामा छ । विगु गाउँपालिकामा ४३ मध्ये ३३ मिलापत्र भएका छन् ।
तीन अदालतमा पठाएका छन् भने बाँकी सात प्रक्रियामा छ । सबैभन्दा बढी मुद्दा भीमेश्वर नगरपालिका र कम विगु गाउँपालिकामा दर्ता भएको छ ।रासस