गण्डकी: गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जातजातिका भाषा, संस्कृति देशका मौलिक सम्पत्ति भएको बताए । प्रदेश प्रमुख गुरुङले यिनीहरूको जगेर्ना राज्यको दायित्व भएको बताए ।
तमु ल्होसार २०७८ का अवसरमा गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाल बहुजातीय बहुभाषिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको बताए ।
देशमा समावेशी लोकतान्त्रिक संविधान बनेको बताउँदै उनले ल्होसार पर्र्वले राष्ट्रमा सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न प्रेरणा मिल्ने बताए ।
नेपालका विभिन्न जातजाति, भाषाभाषी बीचको विविधता देशका लागि मात्र नभइ समग्र विश्वका लागि पूँजी भएको उनको भनाइ थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयदेखिको एकात्मक व्यवस्थाले राष्ट्रियताको सङ्कूचित परिभाषा गरेको बताउँदै २०६२÷६३ को जनआन्दोलन पश्चात् सबै जाताजाति, भाषभाषी एवं संस्कृतिबीचको एकतालाई राष्ट्रियताका रुपमा लिइएको धारणा राखेका छन् ।
नेपाली विविधताबीच सबैले सामूहिक समर्पणको भावना सिर्जना गर्नुपर्ने बताउँदै उनले ल्होसार पर्वले सबैलाई एकतावद्ध हुन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सबै जातजाति, भाषभाषी र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।
प्रदेश प्रमुख सचिव हरिप्रसाद बाँस्तोलाले ल्होसार पर्वले सबैमा सुख शान्ति र समृद्धि ल्याउने कामना गरेको छन् । तमु धी नेपालका अध्यक्ष हुमबहादुर तमुले तमु समुदायको नयाँ वर्षका रुपमा ल्होसार मनाइने बताउँदै गाई वर्गको बिदाई र बाघ वर्गको आगमनका रुपमा यस वर्ष ल्होसार मनाउन लागिएको जानकारी दिए । रासस