सुर्खेत: राष्ट्रिय सतर्कता केन्द्रले यहाँका विभिन्न सरकारी तथा सार्वजनिक निकायमा गरेको अनुगमनमा सुर्खेतका १४९ कर्मचारी छड्केमा परेका छन् ।
भ्रष्टाचार नियन्त्रणःहाम्रो दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रमका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आइतबार पुगेको राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको टोलीले छड्के अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा यहाँका कर्मचारीले कार्यालय समय पालना नगरेको र नेपाल सरकारद्वारा तोकिएको पोशाक नलगाएको पाइएको सचिव घिमिरेले बताए ।
उनका अनुसार सुर्खेतका विभिन्न कार्यालयमा गरिएको उक्त छड्के अनुगमनका क्रममा ११८ कर्मचारी कार्यालयमा अनुपस्थित रहेका र ३१ कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको छ ।
सोही क्रममा सामाजिक विकास मन्त्रालयमा २८, कृषि विकास निर्देशनालयमा आठ, ऊर्जा विकास कार्यक्रममा पाँच, मालपोत कार्यालयमा १५, भू–जलाधार व्यवस्थापन कार्यालयमा नौ, यातायात व्यवस्था कार्यालयमा छ ।
खानेपानी तथा सिँचाइ कार्यालयमा पाँच, नापी तथा डिभिजन वन कार्यालयमा एक÷एक कर्मचारी अनुपस्थित रहेको पाइएको छ । स्थानीय तहअन्तर्गत वीरेन्द्रनगर नगरपालिकामा २२ र गुर्भाकोट नगरपालिकामा २३ कर्मचारी अनुपस्थित रहेका प्रहरी उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । रासस