कञ्चनपुर: शुक्लाफाटाँ नगरपालिकाले मुक्त हलियाका घर निर्माणका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले मुक्त हलियाका २५ परिवारका घर निर्माणका लागि बजेटको व्यवस्था गरेको हो ।
घरबासको व्यवस्था नभएका मुक्त हलिया परिवारका लागि घर निर्माण गर्न नगरपालिकाको कोषबाट रकम खर्च गर्ने निर्णय गरीएको नगरप्रमुख दिलबहादुर ऐरले बताए । पुनः स्थापना हुनबाट छुटेका ‘क’ बर्गको परिचय पत्र पाएका मुक्त हलिया परिवारका लागि घर निर्माण गर्नका लागि आवश्यक बजेटको व्यवस्था मिलाएका छौं ।
जग्गा खरिदको कार्य गत वर्षनै गरेका हौँ । विविध कारणले गत वर्ष घर निर्माणका लागि बजेटको व्यवस्था गर्न सकेका थिएनौं । अहिले त्यो कार्यलाई पुरा गरेका छौं ।” मुक्त हलिया पुनः स्थापनका लागि नगरपालिकाको वडा नं १ वन्साहमा जग्गा खरिद गरिएको छ ।
पुनः स्थापनका लागि छनौटमा परेका २७ मध्ये २५ परिवारलाई घर निर्माणका लागि रु दुई लाखका दरले शून्य मौज्दातमा बैंकमा खाता खोलेर रकम उपलव्ध गराउने व्यवस्था गरिएको छ । मुक्त हलिया परिवारलाई सात धुरका दरले घरवासका लागि जग्गा उपलव्ध गराइएको छ ।
मुक्त हलियाका लागि दुई कोठा, एक बरण्डा र शौचालय सहितको घर निर्माण हुने राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहारले बताए । उनका अनुसार सौचालय निर्माणका लागि प्रति घरघुरीलाई रु एक लाख ५० हजारका दरले हेविटाट नेपाल नामक संस्थाले सहयोग उपलव्ध गराउने सहमती भएको छ ।
सोही संस्थाले घर निर्माणका लागि प्राविधिक सहयोगसमेत गर्नेछ । घर निर्माणका लागि नक्साङ्कनको कार्य भैसकेको छ । केही दिन भित्रै घर निर्माणको कार्य थालनिेछ ।
नगरपालिकाका लगतमा समावेशभै परिचय पत्र पाएका ४५८ मुक्त हलिया परिवार पुनः स्थापन भैसकेका छन । पुनः स्थापना हुनबाट छुटेका लगतमा समावेश हुन नसकेका मुक्त हलिया परिवारको सङ्ख्या भने ३५२ छ । रासस