काठमाडौं: विपद् न्यूनीकरण र पूर्व तयारीमा ध्यान दिनुपर्ने आवश्यताका बारेमा यहाँ सचेतना कार्यक्रम गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गण्डकी प्रदेश सरकारको समन्वयमा प्रकोप पूर्व तयारी सञ्जाल नेपालको आयोजनामा स्फियर मापदण्ड सचेतनाको कार्यक्रम गरिएको हो ।
सञ्जालका अध्यक्ष सूर्यबहादुर थापाले मानवीय प्रतिकार्यको गुणस्तरमा सुधार ल्याउन र आफ्ना क्रियाकलापका लागि जवाफदेही हुने उद्देश्यसहित सन् १९९७ स्फियर सुरुआत भएको जानकारी दिए ।
स्फियरले विशेषतः विपद् अथवा द्वन्द्वबाट प्रभावित मानिसलाई मर्यादासहित जीवन बाँच्न पाउने अधिकार, उनीहरुलाई सहयोग प्राप्त गर्ने अधिकार साथै विपद् अथवा द्वन्द्वबाट उत्पन्न मानवीय पीडालाइ कम गर्न सम्भव सबै कदम चालिनुपर्छ भन्ने मूलभूत सिद्धान्त स्फियरको रहेको उनले बताए ।
उनले नीतिनियम ऐन सबै बनेको तर जोखिम न्यूनीकरण र पूर्व तयारीका लागि पर्याप्त ध्यान र लगानी हुननसकेको बताए । सचेतना कार्यक्रममा प्राधिकरणका उपसचिव डा डिजन भट्टराईले प्राधिकरणका क्षेत्राधिकारभित्र रहेको कार्यका बारेमा जानकारी गराए ।
जिल्ला व्यवस्थापनको कोषमा गएर पैसा जम्मा हुने तर प्रभावितसम्म पुगेर कार्यको थालनी हुननसकेको बताए । पुनःनिर्माणका अनुदान साझा अधिकार सूची र कतै एकल अधिकार भए पनि एकद्वार प्रणालीबाट जाँदा प्रभावकारी हुने उनको भनाइ थियो ।
गत आर्थिक वर्षमा प्राधिकरणबाट रु ३० करोड रकम पठाएको जानकारी दिँदै उहाँले सम्बन्धित निकायबीच समन्वय हुन नसक्दा सोअनुसारका घर बन्न नसकेको बताए। प्रविधिमा आधारित पूर्व तयारी तथा प्रतिकार्यका लागि दिगो लक्ष्यसहितको कार्यक्रम आवश्यता रहेको उनको भनाइ थियो ।
सहजकर्ता शक्ति गुरुङले स्फियर निर्देशिकामा समेटिएका विषयमा प्रष्ट पार्नुभएको थियो । विशेषगरी मानवीय बडापत्र, संरक्षणसम्बन्धी सिद्धान्त मूलभूत मानवीय मापदण्ड, पानी आपूर्ति, सरसफाइ तथा स्वास्थ्य प्रवद्र्धन, खाद्य सुरक्षा तथा पोषण, आवस तथा बस्ती र स्वास्थ्यभित्रका सूचकका बारेमा जानकारी गराए ।
गण्डकी प्रदेशका योजना तथा विपद् व्यवस्थापन शाखाका उपसचिव यामप्रसाद सुवेदीले विपद् न्यूनीकरणमा प्रदेश सरकार अवलम्बन गरेका नीतिका बारेमा जानकारी गराए । कार्यक्रमका सहभागीले विपद् पछाडिको समयमा अवलम्बन गर्नुपर्ने विषयमा प्रतिबद्धता जनाए ।
कार्यक्रममा सरकारी कार्यलयका विपद्मा काम गरेका फोकल पर्सनलाई सहभागी गराइएको कार्यक्रम संयोजक सान्त्वना देवकोटाले जानकारी दिए । ––– रासस