जनकपुरधाम । प्रदेश २को प्रदेशसभा बैठकमा प्रदेशको नामकरणका लागि चार वटा नाम प्रस्ताव भएका छन् ।
बिहीबार बसेको प्रदेश सभा बैठकमा ‘मधेश’, ‘जानकी’, ‘मध्य मधेश’ र ‘मिथिला भोजपुरा’ नाम पेश भएका छन्। सत्तारूढ जनता समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र)ले ‘मधेश’ नाम प्रस्ताव गरेका हुन् भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसको समर्थन गरेको छ ।
नेकपा एमालेले भने प्रदेश २ को नाम ‘जनक’ प्रस्ताव गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) ले जानकी र नेपाली कांग्रेसले मिथिला भोजपुरा राख्न प्रस्ताव गरेको छ । कांग्रेसबाट टिकट पाएर पर्साबाट निर्वाचित सांसद राजेश्वरप्रसाद साहले मध्य मधेस नाम प्रस्ताव गरेका छन् ।
प्रदेश सभा बैठकमा प्रदेशको नाम प्रस्ताव गर्ने तयारी गरेकी एमाले सांसद शारदा थापा अनुपस्थित भएपछि बैठकको कार्यसूचीबाट एमालेबाट प्रस्तावित हुने भनिएको नामसम्बन्धी प्रस्ताव हटाइएको थियो ।
शुक्रबार संसद् सचिवालयमा प्रदेशको नाम जनक दर्ता गराउने सांसद थापाले बताइन् । पर्सामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रम भएका कारण आफू बैठकमा सहभागी हुन नसकेको उनले जनाइन् ।
जसपाको तर्फबाट शैलेन्द्रकुमार यादव, माओवादी केन्द्रको तर्फबाट भरतप्रसाद साह, नेकपा एसको तर्फबाट प्रमोदकुमार यादव, नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले नामको प्रस्ताव पेस गरेका छन् । नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामाकरणको प्रस्ताव भने आज पेस हुन सकेको छैन ।