पाल्पा: पाल्पाको रिब्दीकोट गाउँपालिकामा दुग्ध सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको छ । यहाँको भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सो केन्द्र सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाभित्र एकै ठाउँमा सङ्कलन गरी बिक्री वितरण गर्ने भएपछि किसानलाई दुध बेच्न झण्झट नहुने र राम्रो आयआर्जनसमेत हुने हुँदा सो केन्द्र सञ्चालनमा ल्याइएको कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जनाएको छ ।
दुग्ध सङ्कलन केन्द्र स्थापना भएसँगै यहाँका किसान उत्साहित हुँदै व्यवसायमा लागेको सहकारी संस्थाका अध्यक्ष केशव खनालले बताए । किसानको सहजताका लागि हामीले सङ्कलन केन्द्र सञ्चालनमा ल्याएका हौँ, गाउँमा उत्पादित दूध गाउँमै बेच्न पाउँदा यसले कृषकलाई ठूलो राहत पुग्नेछ ।
गाउँपालिकाको आठ वडामा हाल एक हजार ४३० लिटर दूध सङ्कलन हुँदै आएकामा अब भैरव दूधका नामबाट बिक्रीवितरण गरिने सहकारीले जनाएको छ । सहकारीले आउँदो माघ महिनादेखि तानसेनमा बिक्री कक्ष सञ्चालन गर्ने योजना बनाएको छ ।
हेफर प्रोजेक्टले दुई हजार लिटरको चिलिमे भ्याट, दूधको शुद्धता नाप्ने मिल्क एनालाइजर, तथा अन्य उपकरणका लागि ५० प्रतिशत सहयोग गरेको छ ।
यस्तै गाउँपालिकाभित्र करिब एक हजार ६०० कृषकलाई एकीकृत बनाएर कृषि तथा पशुपालन क्षेत्रमा आयआर्जन बढाउने गरी सचेतना अभियान सञ्चालन गर्दै आइरहेको रिब्दीकोट हेफर प्रोजेक्टका फोकल पर्सन रामप्रसाद न्यौपानेले बताए ।
गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले सङ्कलन केन्द्र सञ्चालनमा आएपछि कृषक विचौलियाबाट ठगिनेक्रम रोकिने बताउँदै उत्पादन बढाउने, बजारीकरण गर्ने, उत्पादित वस्तुलाई प्रशोधन गरेर दूधको विविधीकरण गर्ने व्यापारमा सहकारीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
साथै गाउँपालिकाद्वारा कृषकलाई दूध, दाना, घाँस ढुवानीलगायत विभिन्न कामका लागि हेफर प्रोजेक्टको ५० प्रतिशत, गाउँपालिकाको २५ प्रतिशत र सहकारी संस्थाको २५ प्रतिशत लगानीमा बलेरो पिकअप जीप प्रदान गरिएको छ । रासस