पाल्पा: तानसेन नगरपालिकाले सबै घरपरिवारलाई पारिवारिक लगत विवरण सङ्कलन गर्न थालेको छ । सङ्कलन विवरणलाई ‘फेमिली कार्ड‘का रुपमा विकास गरी नागरिकलाई उपलब्ध गराउन लागेको हो ।
नगरपालिकाले १४ वडामा लगत विवरण सङ्कलन गर्न गणक खटाएको हो । नगर प्रमुख अशोककुमार शाहीले प्रविधिमैत्री कार्यालयका रुपमा नगरपालिकालाई विकास गर्नका लागि तथ्याङ्क सङ्कलन गर्न लागिएको जानकारी दिए।
नगरपालिका मातहतका कार्यालयलाई पेपरलेस बनाउँदै लैजाने योजनाअनुरुप तथ्याङ्क सङ्कलन थालिएको नगर प्रमुख शाहीले बताए । नगरपालिकाभित्रका सम्पूर्ण कामका लागि प्रयोग हुने गरी फेमिली कार्डको सोंच ल्याएको सूचना प्रविधि अधिकृत प्रकाश गैरेले बताए ।
सो कार्डमा व्यक्तिगत तथा पारिवारिक विवरण समावेश गरिएको गैरेले बताए । यसबाहेक पारिवारिक स्वास्थ्य अवस्था, चर्पीको प्रयोग, वैदेशिक रोजगारी, घरजग्गा, आर्थिक, नगरपालिकाबाट प्रदान गरेका सेवा, सुविधा कार्डमा उल्लेख गरिएको छ ।
नगर सूचना व्यवस्थापन प्रणालीअन्तर्गत फेमिली कार्ड निर्माण र वितरण गरिन लागेको नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत भरत आचार्यले बताए ।
फेमिली कार्डमा डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने बार कोड, घर नम्बर, फेमिली आइडी नम्बर समावेश गरिनेछ । यसमार्फत नगरपालिकाले सहजरुपमा नागरिकको सूचना प्राप्त गरी कार्य सम्पादन छिटो र सरल हुने विश्वास लिएको छ ।रासस